चार महिनामा २५ अर्बको खाद्यान्न आयात

काठमाडौं , मंसिर २३ । चालू आर्थिक वर्षको चार महिनामा मुलुकमा २५ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ ।

साउनदेखि कात्तिक महिनासम्म मुलुकमा २५ अर्ब २७ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको आयात भएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रले जनाएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि खाद्यान आयात दोब्बरले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा खाद्यान्न आयात ९९ प्रतिशतले बढेको केन्द्रले जानकारी दिएको छ ।गत वर्ष सोही अवधिमा १२ अर्ब ५६ करोड ६४ लाख १२ हजार रुपैयाँको आयात भएको थियो । चामल, मकै, कोदो, गहुँ लगायतका अन्य खाद्यान्न गरेर २५ अर्ब भन्दा बढीको आयात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

छिमेकी मुलुक भारतबाट सबै भन्दा धेरै खाद्यान्न आयात भएको छ । मुुलुकमा खाद्यान्नमा आत्मनिर्भर बन्ने भनिएपछि स्थानीय उत्पादनले माग धान्न नसकेपछि ठूलो परिमाणमा खाद्यान्न भित्रिने गरेको छ ।

केन्द्रका अनुसार चार महिनामा करिब साढे ९ अर्ब रुपैयाँको चामल आयात भएको छ । साउनदेखि कात्तिकसम्म भएको चामलको आयात विगतको तुलनामा करिब डेढ गुणा बढी हो ।यो अवधिमा १ लाख ९८ हजार टन अर्थात् १९ करोड ८३ लाख किलो चामल आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १२० प्रतिशत बढी हो ।

गतवर्ष यही अवधिमा ४ अर्ब ९० करोडको चामल आयात हुँदा ३९ करोड रुपैयाँ भन्सार असुल भएको थियो ।गत वर्ष कात्तिकसम्म भारतबाट ९० हजार टन चामल आयात भएको थियो । यो वर्ष भन्सार विभागले चामलबाट ९० करोड भन्सार राजस्व असुल गरिसकेको छ ।

चैतबाट गरिएको लकडाउनपछि खाद्यान्नको आयात ह्वात्तै बढेको छ । खाद्यान्नको खपत बढ्दै गएपछि स्थानीय उत्पादनले बजार माग पूरा गर्न नसकेपछि ठूलो परिमाणमा खाद्यान्न आयात भएको हो ।गत वर्ष एक वर्ष अवधिमा ५६ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो ।

खेतियोग्य जमिन घडेरीमा प्रयोग हुनु, कृषिमा काम गर्ने जनशक्ति अभाव जसको कारणले गर्दा मुलुकमा मागअनुसार खाद्यान्न उत्पादन हुन सकेको छैन । नेपाल कृर्षि प्रधानदेश भएपनि खाद्यान्नको अपुग भने कायम हुने गरेको छ । मागअनुसार खाद्यान्न उत्पादन हुन सकेको छैन । कतिपय ठाउँमा भोकमरी समेत हुने गरेको छ भने भनेको समयमा खाद्यान्न पुग्न समेत कठिन हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्