मालपोत कार्यालय घेराउ
काठमाडौं, २३ मंसिर । धादिङ्ग मालपोत कार्यालय घेराउ गर्दै नाराजुलुस गरिएको छ । नेत्रावती गाउँपालिका ५ र नीलकण्ठ नगरपालिका–११ ज्यामरुका बासिन्दाहरुले मालपोत कार्यालय घेराउ गरेका छन् । १५ सय घरधुरुका बासिन्दालाई सरकारले सुकुमबासी बनाएको भन्दै विभिन्न संघर्षकार्यक्रम अन्तर्गत आज मालपोत कार्यालय बन्दा तथा घेराउ गरिएको हो । आफ्ना माग पूरा नभएसम्म अनिश्चित कालसम्म मालपोत कार्यालय बन्द गर्ने संघर्ष समितिका संयोजक इश्वरी लम्सालले जानकारी दिए । गुठी समस्या समाधान संघर्ष समितिका अध्यक्ष ईश्वरीबहादुर लम्सालले भने, ‘विगतमा हामीले पटकपटक हाम्रो लालपुर्जा यथावत् अवस्थामा ल्याई पाउँ भनेर मालपोत कार्यालय, जनप्रतिनिधिलगायत सरोकारवालाको ध्यानाकर्षण गराए पनि सुनुवाइ भएन। त्यसकारण बाध्य भएर संघर्षमा उत्रिनु परेको हो।’
पहिलो जग्गाधनी कायम भएका स्थानीयको कानुनी रूपमा हकवालाको अधिकार खोसिएपछि सुकुमबासी बन्न परेको, बेचविखन ठप्प भएको, पुस्ता हस्तान्तरणसमेत रोकिएकाले समस्या उत्पन्न भएको नीलकण्ठ—११ का रामबहादुर श्रेष्ठले बताए। उनले भने, ‘वित्तीय संस्थामा धितो बन्धकी राखेर आपत्विपतमा पैसा जोहो गर्न बन्द भएको छ। नयाँ घरमा विद्युत्को मिटर लिन पनि नगद धरौटी राख्नुपर्ने बाध्यता छ।’
बाजे, बुवाको पालामा नम्बरी भएको जग्गा नातिको पालामा गुठीको नाममा लगेको भन्दै स्थानीयले संघर्ष समिति बनाएर मालपोत कार्यालय घेराउ गरेका छन्। ‘हामीले गुठी संस्थानलाई पनि हाम्रो समस्याबारे ध्यानाकर्षण गरायौं।’ संघर्ष समितिका संयोजक ईश्वरीले भने, ‘गुठी संस्थान सकारात्मक भए पनि मालपोत विभाग र मालपोत कार्यालयले चासो नदिँदा समस्यामा छौं।’
गुठी संस्थानले २०७६ वैशाख ११ गते मालपोत कार्यालयलाई पत्र लेख्दै साविकको गुठी नम्बरी रैतान जग्गालाई कानुनबमोजिम रैतान नम्बरी गरी जग्गाधनी प्रमाणपुर्जा दिन र जग्गाधनी महलमा व्यक्तिकै नाम भएको श्रेस्ता पूर्ववत् कायम गर्न अनुरोध गरेको थियो।
गुठी संस्थानका तत्कालीन उपप्रशासक जयप्रसाद रेग्मीले गुठी रैतान जग्गा रैकर जग्गा सरहको हक हैसियत हुने भएकाले यस्ता जग्गा धितो बन्धक राख्न हक हस्तान्तरण गर्न मिल्नेसमेत बताएका थिए। मालपोत कार्यालय धादिङले आवश्यक काम नगरिदिँदा मालपोत घेराउ गर्न बाध्य भएको स्थानीय ज्ञाननारायण श्रेष्ठले बताए।
श्री ५ को वायु गुठीका नाममा बसोबास गर्दै आएका उक्त क्षेत्रका स्थानीयसँग जग्गा नापी हुँदादेखि जग्गाधनी प्रमाणपुर्जामा पूर्ण स्वामित्व थियो । सरकारलाई नियमित मालपोत पनि बुझाइरहेकै अवस्थामा २०७४ सालदेखि श्री ५ को वायु गुठीलाई जग्गाधनी बनाई स्थानीयलाई मोही कायम गरिदिएपछि जग्गा माथिको अधिकार खोसिएको हो । उनले पुर्खाका पालादेखि भोगचलन गर्दै आएको र लालपुर्जासमेत कायम रहेको जग्गा २०७४ सालदेखि सरकारले गुठीको नाममा कायम गरिदिएपछि उनीहरू जग्गाविहीन भएका हुन्















प्रतिक्रिया दिनुहोस्