नेपाल भारत व्यवसायमा सहजीकरणका लागि संयन्त्र बन्ने
काठमाडौं, २२ मंसिर । दुई देशबीचको व्यापार सहजीकरण गर्न नेपाल र भारत संयुक्त विजनेस फोरम गठन हुने भएको छ । सोमबार सम्पन्न नेपाल भारत वाणिज्य सचिवस्तरीय व्यापार तथा लगानी सहजीकरण सम्बन्धी संयन्त्र (आईजीसी) बैठकमा यस्तो समझदारी भएका हो । यो समझदारीसंगै अब दुबैदेशबीच व्यपार व्यवसायमा सहजीकरण हुने भएको छ ।
सोमबार भिडियो कन्फरेन्स मार्फत भएको बैठकमा व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख एजेन्डामा भएका प्रगतिबारे समीक्षा गरिएको छ । बैठकमा व्यापार तथा पारवाहन सन्धीको बृहत समीक्षा, रेलसेवा सम्झौतामा संशोधन, लगानी प्रवद्र्धनका लागि भएका पहल तथा प्रयास, दुबै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा सहकार्यको विषयमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
व्यापार तथा वाणिज्य सम्बन्ध तथा सम्पर्कलाई भविष्यमा अझ सुदृढ बनाउन सरकारी स्तरमा गर्नुपर्ने प्रयासकाबारे पनि दुवै पक्षबीच विस्तृत छलफल भएको भारतीय दूतावासको विज्ञप्तिमा जनाइएको छ । भर्चुअल बैठकको नेपाली नेतृत्व वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले गरेका थिए भने भारतको तर्फबाट उद्योग तथा आन्तरिक व्यापार प्रवद्र्धन विभागका सचिव डा. गुरुप्रसाद मोहपात्रसहितको टोली सहभागी थियो ।
यसले नेपाल भारतबीचको सम्बन्ध विस्तारमा पनि थप सहयेग पुग्ने अपेक्षा गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्