नेप्सेको वृद्धिबारे अनुसन्धान गर्न धितोपत्र बोर्डको निर्देशन, पठायो पत्र

काठमाडौं, मंसिर १९ । पछिल्लो समय सेयर बजारमा भएको लगातारको बृद्धिपछि नेपाल धितोपत्र बोर्डले अनुसन्धान गर्न भन्दै नेपाल स्टक एक्सचेन्जलाई पत्र पठाएको छ । बजारको बृद्धिमै शंका गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग के कति कारणले बजार बढेको हो भनेर बोर्डले पत्र पठाएको बताइएको छ ।

औपचारिक रुपमा उसले अस्वभाविक कारोबार भन्न नमिलेकाले के कति कारण बजार बढेको हो भन्दै जिज्ञासा गरेको हो । बोर्डले बुधबार नेप्सेलाई पत्र पठाएका हो । सेयर बजारमा स्रोत नखुलेको धनले प्रवेश पाएको आशंकामा बोर्डले पत्र पठाएको हो ।

पछिल्लो समय सेयर बजारको बृद्धिमा स्रोत नखुलेको धन भित्रिएको आशंका हुन थालेको छ । यसको चर्चा चल्न थालेपछि नियामकको नाताले बोर्ड सचेत हुन खोजेको हो । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाले पनि सेयर लगानीमा ऋण दिइरहेका छन् । सो क्षेत्रको लगानी बढी भएको कारण नेपाल राष्ट्र बैंकले पनि सेयर कर्जामा पुनर्विचार गरिने मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत बताएको छ ।

सेयर बजारले २१ सय बिन्दुमा पुग्ने तरखर गरिरहँदा सिमित कम्पनीको मात्र सेयर मूल्य बढिरहेको छ । राम्रै प्रतिफल दिने ९बैंक तथा वित्तिय संस्था० कम्पनीहरुको सेयर मूल्य खासै बढेको छैन । यसले गर्दा बजारमा आशंका पैदा भएको छ । केहीदिन अघिमात्रै धितोपत्र बोर्डले लगानीकर्तालाई सुझबुझ पूर्ण लगानी गर्नु भन्दै औपचारिक रुपमै विज्ञप्ति निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्