कांग्रेसले बोलायो पदाधिकारी बैठक, वरिष्ठ नेता पौडेल पक्राउबारे छलफल हुने

काठमाडौं , मंसिर १९ । नेपाली कांग्रेसको पदाधिकारी एवम् पूर्व पदाधिकारीहरुको बैठक बस्ने भएको छ ।पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृहजिल्ला तनहुँमा पक्राउ गरेको घटनाको विषयमा छलफलका लागि बैठक बस्न लागेको हो ।

दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए ।

आजको विषयमा पूर्वनिर्धारित कार्यतालिकामा छलफल नहुने र साथै सरकारले पछिल्लो समय गरेका कमिकमजोरीका बारेमा छलफल हुने उनले बताए । साथै बैठकमा पदाधिवकारी एवम् पूर्वपदाधिकारीहरुको उपस्थिती रहनेछ ।

गत बुधवार तनहुँको ब्यास नगरपालिकामा निर्मित पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पुल उद्घाटन विवादमा परेपछि प्रशासनले निषेधाज्ञा जारी गरेकोमा पौडेल लगायत कांग्रेसका नेता कार्यकर्ताहरुले निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

साथै केही घण्टा जिल्ला प्रहरी कार्यालय तनहुँमा राखि पौडेललाई छाडिएको थियो । साथै पौडेलले बिहीवार उक्त पुलको उद्घाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्