कोरोना बिमाको भुक्तानी ३ दिनभित्रै गर्न मन्त्रालयको निर्देशन

काठमाडौं , मंसिर १८। कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको छ । अर्थ मन्त्रालयले बिमा समितिलाई सात दिनमा कोरोना दाबी भुक्तानी हुन नसकेको बारे प्रश्न समेत गरेको छ । गत कात्तिक १८ गतेको निर्णयअनुसार एक सातामै भुक्तानी दिइसक्नुपर्ने भए पनि हालसम्म न्यून संख्यामा भुक्तानी भएको गुनासो आएपछि मन्त्रालय तातेको हो ।

अर्थमन्त्रालयले यस अघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिलाई ३ दिनभित्रै कोरोना बिमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन निर्देशन दिएको हो ।

हाल कुन-कुन बिमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थ मन्त्रालयले समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के(के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन समेत भनेको छ ।

अर्थमन्त्रालयद्वारा प्रेसित पत्रमा भनिएको छ ‘कोरोना बिमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्नुहुन अनुरोध छ ।’

अझै १३ हजार भन्दा धेरैको कोरोना बिमाको रकम भुक्तानी हुन बाँकी छ ।अन्य निर्णय पनि समितिले पालना नगरेपछि अर्थले कागजात पूरा गरेकालाई भुक्तानी दिन र भेरिफिकेसन प्रक्रिया सकेसम्म चाँडो सम्पन्न गर्न आदेश दिएको हो । अर्थले मापदण्ड पूरा गरेका बिमितलाई तीनदिनभित्र भुक्तानी दिने व्यवस्था मिलाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्