राष्ट्रियसभा सदस्य निर्वाचनमा पनि एमाले र माओवादी केन्द्रकै वर्चस्व ,कसले कहाँ जिते, हेर्नुहोस् सूची

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेले एकल बहुमत ल्याएको छ ।

कूल ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये ५६ सदस्यका लागि भएको निर्वाचनमा एमाले एक्लैले २९ सिटसहित बहुमत ल्याएको हो ।

त्यसैगरी नेपाली कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले १०, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले २/२ सिट ल्याएका छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा सात वटै प्रदेशबाट ८/८ जनाका दरले ५६ सांसद निर्वाचित हुने र सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीन जना मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश नम्बर १ बाट नेकपा एमालेका ६ र नेपाली कांग्रेसका २ जना राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रदेश नम्बर २ मा भने यसअघि नै एमाले, कांग्रेस, राजपा र फोरमबाट २/२ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रदेश नम्बर ३ मा पाँच सिट जित्दै एमालेले बहुमत ल्याएको छ भने नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्रले एक सिटमा विजयी हात पारेका छन् ।

प्रदेश नम्बर ४ मा नेकपा एमालेले ३, नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ सिट जितेका छन् ।

प्रदेश नम्बर ५ मा पनि एमालेले ४, कांग्रेसले २ र माओवादीले दुई सिट जितेका छन् । प्रदेश नम्बर ६ मा एमालेले ५ र माओवादी केन्द्रले ३ सिट जितेका छन् ।

यस्तै प्रदेश नम्बर ७ मा एमालेले ४, कांग्रेसले २ र माओवादी केन्द्रले २ सिट जितेका छन् ।

उम्मेदवारी मनोनयनकै क्रममा २४ जना निर्विरोध भएकाले ३२ सिटका लागि मात्रै हिजो मतदान भएको हो । तीमध्ये प्रदेश नम्बर ३ र ६ मा मात्रै सबै पदका लागि चुनाव भएको हो ।

प्रत्येक प्रदेशबाट कम्तिमा तीन महिला, एक दलित र एक अपांगता÷अल्पसंख्यक तथा अन्य तीन खुलासहित ८ जना निर्वाचित हुने संवैधानिक प्रावधान छ ।

राष्ट्रियसभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख छन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधित्व गर्ने मतदाताको मतभार १८ तोकिएको थियो ।

राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएसँगै संघ, प्रदेश र स्थानीय तहका सभाले पूर्णता पाउने छन् । प्रदेश र स्थानीय तहले यसअघि नै पूर्णता पाइसकेका थिए ।

संविधानले राष्ट्रियसभा र प्रतिनिधिसभालाई संयुक्त रुपमा संघीय संसद् भनेकाले चुनावको परिणामसँगै त्यसले पूर्णता पाउँछ ।

राष्ट्रियसभा निर्वाचन पर्खनुपरेकै कारण निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातितर्फको परिणाम निर्वाचन सम्पन्न भएको दुई महिना भइसक्दासम्म पनि दिन सकेको छैन ।

संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलले आफूले पाएको सिटको कम्तिमा ३३ प्रतिशत महिला पुर्‍याउर्नैपर्ने संवैधानिक प्रावधान छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभा प्रत्यक्षतर्फको सिट जोड्दा ३३ प्रतिशत पुर्‍याउन नसक्ने दलका हकमा अपुग महिला संख्या समानुपातिक सूचीबाट पुर्‍याउनुपर्ने भएकाले प्रतिनिधिसभाको परिणाम अड्किएको हो ।

अब राष्ट्रपति, उपराष्ट्रपति एवम् संघ तथा प्रदेशमा सभामुख, उपसभामुखको निर्वाचन हुनेछ । साथै संसदीय प्रक्रियाअनुसार संघ र प्रदेशमा सरकार गठन गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्