नयाँ प्रधानमन्त्री फागुन दोस्रो साता

काठमाडौँ । मंसिर १० र २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार बन्न फागुनको दोस्रो साता लाग्ने भएको छ । नयाँ संविधानपछिको पहिलो निर्वाचन र कांग्रेसले संविधानको छिद्रामा टेकेर गरेको विवादका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको हो ।

निर्वाचन आयोगले बुधबार हुने राष्ट्रियसभा निर्वाचनको नजिता भोलिपल्टै सार्वजनिक गरी प्रतिनिधिसभा समानुपातिकको नजिता ‘छोटो विधि’ अपनाएर राष्ट्रपतिलाई बुझाउने तयारी गरेपछि फागुन दोस्रो सातामा नयाँ सरकार बन्ने भएको हो । राष्ट्रियसभा निर्वाचन नभई प्रतिनिधिसभा समानुपातिकतर्फको नजिता सार्वजनिक गर्न नमिल्ने भन्दै आयोगले ६० दिनदेखि नजिता रोकेर राखेको छ ।

आयोगले प्रतिनिधिसभा नजिता ढिलोमा फागुन ५ भित्र राष्ट्रपतिलाई बुझाउने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए ।

समानुपातिकको नजिता रोकिएका कारण प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको दुई महिना बित्दा पनि नयाँ सरकार गठन हुन सकेको छैन ।

आयोगले २४ गते हुने राष्ट्रियसभा नजिता भोलिपल्टै सार्वजनिक गर्ने तयारी गरेको छ । २६ गते आयोगले समानुपातिकतर्फ एकतिहाई महिलाको संख्या पु¥याएर आउन दलहरूलाई पत्राचार गर्नेछ ।

विगतमा दलहरूलाई सात दिनको समय दिइने भए पनि आयोगले आफ्नो कार्यविधि संशोधन गरी अब तीन दिन मात्र दलहरूलाई दिने भएको छ। २९ गतेभित्र दलहरूले आयोगले भनेअनुसार परिणाम बुझाए आयोगले राष्ट्रपतिलाई नजिता बुझाउने प्रक्रिया सुरु गर्नेछ भने कारणवश कुनै दलको तलमाथि भए थप दुई दिनको समय दिएर सच्याउन समय दिइने छ ।

संविधानको धारा ७६ ले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ। कुनै एक दलको बहुमत नभए दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ।

निर्वाचनमा गठनबन्धन गरेर पार्टी एकताको प्रक्रियामा रहेका एमाले र माओवादी केन्द्रको बहुमत पुग्छ । दुवै दलले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्