आज ३३औँ विश्व एड्स दिवस ! सचेतनामूलक कार्यक्रम गरी मनाइँदै
काठमाडौँ, मंसिर १६ । आज ३३औँ विश्व एड्स दिवस ! विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवार’ भन्ने नारासहित आज विविध कार्यक्रम हुँदैछ ।
एड्स भएपछि शरीरको रोगसँग लड्ने क्षमता ह्रास भएर क्यान्सर जस्ता अवसरवादी रोग लाग्ने विज्ञहरू बताउँछन् ।रगतको परीक्षण गरेपछि एचआईभी भए नभएकोबारे थाहा हुन्छ । विशेष गरेर असुरक्षित शारीरिक सम्पर्क गर्ने व्यक्ति, सुईमार्फत ड्रग्स लिने व्यक्तिले एचआईभीको जाँच समयमै गराउनु पर्ने चिकित्सकहरू बताउँछन् ।
एचआईभी सार्ने मुख्य कारणमध्ये नेपालमा ७६ प्रतिशत असुरक्षित शारीरिक सम्पर्कबाट नै सर्ने गरेको अनुसन्धानले देखाएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ सङ्क्रमण हुने दर ६४ प्रतिशतले घटेको छ ।
सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखमा यो दिवस मनाइन्छ ।नेपालमा २९ हजार ५०३ जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथांक छ । जसमध्ये ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला छन् । बालबालिका र वयस्कको संख्या १९ हजार ४१० छ ।
नेपालमा प्रतिवर्ष जोखिमयुक्त वर्ग ५ प्रतिशत तथा सामान्य जनसंख्यामा एचआईभी संक्रमणको दर ० दशमलव १३ प्रतिशत रहेको छ । सीमा जोडिएका तराईका जिल्ला र सुदूरपश्चिम प्रदेशमा एचआईभी संक्रमितको संख्या धेरै रहेको केन्द्रले जनाएको छ । सन् २०३० सम्ममा नेपालबाट एड्सको महामारी अन्त्य गर्ने सरकारको रणनीति छ ।
नेपालमा हालसम्म २९ हजार ५ सय ३ जना एचआइभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । विश्व एड्स दिवसको अवसर पारेर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा। सुधा देवकोटाले सार्वजनिक गरेको तथ्यांक अनुसार पुरुषको संख्या १७ हजार ५ सय ८७ र महिलाको संख्या ११ हजार ९ सय १६ रहेको छ । तथ्याङ्क अनुसार विसं २०७७ असार मसान्तसम्म नेपालको कुल एचआइभी संक्रमितमध्ये १९ हजार ४ सय जनामात्र एआरभी उपचारमा रहेका छन् ।
सन २०१० को तुलनामा सन् २०१९ सम्म नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको कार्यक्रममा बताइयो । यस्तै बच्चाहरूमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको पनि डा। देवकोटाले बताइन् । एचआईभी संक्रमितलाई ८० वटा एआरटी केन्द्र र २० वटा एआरभी केन्द्रबाट निःशुल्क औषधि वितरण भइरहेको पनि निर्देशक देवकोटाले बताइन् ।
प्रतिक्रिया दिनुहोस्