महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी, जित–हार भुलेर महासंघलाई बलियो बनाउने छु : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । ११ मंसिरदेखिसुरु भएको महासंघको साधारण सभामा शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् ।

३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत ल्याएका छन् । २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मत भार रहेको जिल्ला(नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याए ।

ढकालले वस्तुगततर्फ १२।०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४।७६ प्रतिशत, एसोसियटतर्फ १७।४६ प्रतिशत मत ल्याएर कूल ५४।२६ प्रतिशत मत ल्याए । प्रधानले ४५।७४ प्रतिशत मात्रै मत ल्याउन सके ।

शनिबार राति नै आएको मत परिणामअनुसार महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भइसकेका छन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिबार मतदान भएको थियो ।

१९ औं नेतृत्वको रुपमा अबको एक कार्यकाल शेखर गोल्छाले गर्नेछन् भने अहिले वरिष्ठ उपाध्यक्ष जितेका ढकालले महासंघको २० औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अब जित–हार भुलेर महासंघलाई बलियो बनाउन अघि बढ्ने बताएका छन् ।
विहान चुनाव जितेपछि सञ्चारमाध्यमलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले अब चुनावसँगै प्यानल पनि सकिएको बताए ।

उनले अब गोल्छाकै नेतृत्वमा महासंघलाई एक ढिक्का बनाएर अघि बढाउने बताए । ‘चुनाव हारे पनि आदरणीय दाजु किशोर प्रधानलाई पनि साथै लिएर अघि बढ्छौं,’ उनले भने, ‘मलाई विश्वास गर्ने सबैमा धन्यवाद प्रकट गर्छु ।’
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गरेकोले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिबार मतदान भएको थियो । महासंघमा निवर्तमान अध्यक्ष भवानी राणाको समयसम्म आइपुग्दा १८ जना अध्यक्षहरुले महासंघको नेतृत्व गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्