उद्योग वाणिज्य महासंघ निर्वाचन : मतदान जारी , यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा अन्तरगत आज भइरहेको निर्वाचन कार्यक्रम अन्तरगत मतदान जारी छ ।

हालसम्म जिल्लातर्फ ९० प्रतिशत, एशोसिएटतर्फ करिब ७० प्रतिशत र बस्तुगततर्फ ८५ प्रतिशत मतदान सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत उपेन्द्र केसरी न्यौपानेले जानकारी दिए ।

देशभरबाट काठमाडौंमा आएका १ हजार ११६ जना मतदाताले चुनावमा भाग लिइरहेका छन् । कोभिड १९ को बेलामा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तीन ठाउँबाट मतदानको व्यवस्था गरिएको छ । जिल्ला नगरतर्फको प्रज्ञा प्रतिष्ठान, कमलादी, वस्तुगततर्फको महासंघ सचिवालय टेकु, र एसोसिएटतर्फको कार्की ब्याङ्केट बबरमहलमा मतदानको व्यवस्था गरिएको छ ।

महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मुख्य प्रतिनिधिहरुको अन्तिम सूची अनुसार एसोसिएट्स, द्धिराष्ट्रिय, वस्तुगत र जिल्ला नगरका गरी १ हजार ११६ संस्थाका प्रतिनिधिहरुले महासंघको नयाँ नेतृत्वका लागि मतदान गर्नेछन् । महासंघको निर्वाचन समितिले एसोसिएट्सतर्फ ९०४, द्धिराष्ट्रियतर्फ ६, वस्तुगत संघहरु १०१ र जिल्ला नगर उद्योग वाणिज्य संघका १०५ जनाले मतदानमा सहभागिता जनाउँदैछन् ।

वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित नयाँ कार्यकारी समिति सदस्य निर्वाचित हुनेछन् । वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । ढकालको टिममा जिल्ला नगर उपाध्यक्षमा गणनिधी तिवारी, वस्तुगततर्फको उपाध्यक्षमा उमेश लाल श्रेष्ठ, र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई मैदानमा छन् । यसैगरी प्रधानको टिममा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति छन् ।

प्रतिक्रिया दिनुहोस्