‘जनयुद्ध दिवस’ मनाउन ओलीलाई निम्ताे

काठमाडौँ – माओबादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) ले ‘जनयुद्ध दिवस’ का अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रण गरेको छ ।

पार्टी एकीकरण प्रक्रियामा अघि बढिरहेका बेला माओवादी मुख्यालय पेरिसडाँडामा फागुन १ मा मनाइने ‘जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष ओलीलाई निमन्त्रण गरिएको हो । उक्त दिन पेरिसडाँडामा चियापान तथा सास्कृतिक कार्यक्रम आयोजना गरिएको वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले बताए ।

एमाले अध्यक्ष ओलीज्यूलाई जनयुद्ध दिवसको अवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा निम्तो गरेका छौँ सापकोटाले भने ‘उहाँ आउनुभयो भने अध्यक्ष प्रचण्ड र ओलीज्यूले सामूहिक रुपमा सम्बोधन गर्नुहुनेछ ।’ उनका अनुसार ‘ओलीको निजी सचिवालयले वाइसिएलको प्रस्तावलाई सकारात्मक रुपमा लिएको छ ।’

माओबादीका तर्फबाट २२ औँ ‘जनयुद्ध दिवस’ का अवसरमा वाइसिएलले राखेको उक्त कार्यक्रम पार्टीको केन्द्रीय स्तरको कार्यक्रम समेत पनि हो । पार्टी एकीकरण पक्रिया चलिरहेका अवस्थामा पेरिसडाँडामा ओलीको उपस्थितिलाई महत्वका साथ हेरिने वाइसिएलले जनाएको छ ।

माओबादीका विभिन्न घटकले ‘जनयुद्ध दिवस’ मनाए पनि अन्य पार्टीका अध्यक्षलाई बोलाएर सो कार्यक्रम मनाउन लागेको यो पहिलोपटक हो ।

प्रतिक्रिया दिनुहोस्