सवारी दुर्घटनाको तथ्यांक : सबैभन्दा बढी मोटरसाइकल, वार्षिक २ हजारले गुमाउँछन् ज्यान

काठमाडौँ- नेपालमा सवारी दुर्घटनाबाट वार्षिक २ हजारले ज्यान गुमाउने गरेका छन्।

नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार ५ वर्षमा सवारी दुर्घटनाबाट ८ हजार ९८२ जनाको ज्यान गएको छ।

आर्थिक वर्ष २०७०/७१ मा एक हजार ७८७, ०७१/७२ मा २ हजार ४, ०७२/७३ मा २ हजार ६, ०७३/७४ मा २ हजार ३८४ र ०७४/७५ को कात्तिक मसान्तसम्म अर्थात् ४ महिनामा ८०१ जनाको ज्यान गएको छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक मनोज न्यौपाने साँघुरो बाटो र कमजोर पूर्वाधार हुँदा बर्सेनि हजारौँ मानिसले ज्यान गुमाउने गरेको बताउँछन्। ‘दुर्घटना हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेका छन्,’ उनले भने।

आव ०७०/७१ मा ८ हजार ४०६, ०७१/७२ मा ९ हजार १४५, ०७२/७३ मा १० हजार १३, ०७३/७४ मा १० हजार १७८ र र ०७४/७५ को कात्तिक मसान्तसम्म ३ हजार २९ दुर्घटना भएका छन्।

सवारीसाधन बढेसँगै दुर्घटना समेत बढ्दै गएको तथ्यांकले देखाउँछ। दुर्घटनामध्ये अधिकांश चालकको लापरबाहीले हुने गरेको छ। त्यसपछि तीव्र गति, ओभरटेक, यात्रुको गल्ती, यान्त्रिक गडबडी, मादकपदार्थ सेवन र ओभरलोडबाट दुर्घटना भएको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्