माहावाणिज्यदुत ढकाल र चीन उद्योग वाणिज्य संघका पदाधिकारी बीच भेटवार्ता
काठमाडौं, २४ कार्तिक । मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्वतका लागि नवनियुक्त माहावाणिज्यदुत नवराज ढकाल र नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीहरु बीच आज भेटवार्ता भएको छ । उक्त भेटवार्ता नेपाल र तिब्बत बीचको व्यापार, पर्यटन तथा आर्थिक प्रवर्धनका विषयमा केन्द्रित रहेको छ ।
भेटका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र तिब्बतबीच सदियौं पुरानो ऐतिहासिक सम्बन्धको चर्चा गर्दै संघका गतिविधिहरु तथा विद्यमान व्यापारिक संभावना एवं समस्याहरु बारे जानकारी गराए । संघले तिब्बतका व्यापारीक संगठनहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरी व्यापारिक सूचना, प्रतिनिधि मण्डलको आदान प्रदान, पर्यटन प्रवद्र्धन, व्यापारिक मेला, एस्पो, सेमीनारमा सहभागिता लगायतका विविध बिषयमा सहकार्य गरी अघि बढीरहेको उनले जनाए ।
अध्यक्ष तुलाधरले कोभिड १९ का कारण नाका पूर्ण रुपमा सुचारु हुन नसकेकोले यातायात सुचारु गर्न पहलका लागि नव नियुक्त महावाणिज्यदुत नवराज ढकाललाई अनुरोध गरे ।
दुई देश बीच व्यापार सहजीकरणका लागि सडक विस्तारमा जोड दिदै चीन सरकारद्वारा आठ हजार तीस नेपाली उत्पादनमा प्रदान गरिएको शुन्य भन्सार सदुपयोगका लागि प्रक्रिया सरलिकरण गर्न पनि अध्यक्ष तुलाधरले अनुरोध गरे । साथै, उनले नेपालले चीन निर्यात गर्दा नेपाली क्वारेन्टाइन प्रमाणपत्र स्विकार नगर्ने गरेको र दुई देशको भन्सार कोडमा ८ अंक र ६ अंक प्रयोग हुँदा समस्या हुने गरेको अवगत गराउदै नेपालको निर्यात प्रवद्र्धन गर्न लागिपर्नुपर्नेमा जोड दिए ।
छलफलका क्रममा नवनियुक्त महावाणिज्यदुत नवराज ढकालले आफुले दुई पक्षबीचको व्यापार प्रवद्र्धन तथा समस्याहरु समाधानका लागि प्रयास गर्ने बताए । साथै, उनले संघद्वारा प्रदान गरिएका सल्लाह सुझाव अत्यन्त महत्वपूर्ण रहेको औल्याउदै दुई देश बीचमा आर्थिक, व्यापारिक, सांस्कृतिक, पर्यटन आदि प्रवद्र्धन तथा विभिन्न आर्थिक क्रियाकलापहरु मार्फत नेपाल र तिब्बत (चीन) बीच विविध सम्बन्ध सुद्दृढ गर्ने कुरा राखे ।















प्रतिक्रिया दिनुहोस्