तिहारपछि सेयर कारोबारमा ब्रोकर कमिसन घटाउँछौं: बोर्ड अध्यक्ष ढुंगाना
काठमाडौं , कार्तिक २४ । नेपाल धितोपत्र बोर्डले दोस्रो बजार कारोबारमा ब्रोकर कमिसन घटाउने भएको छ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले ब्रोकर कमिसन घटाउने र त्यसको लागि बोर्ड अधयनसँगै छलफल पनि सुरु गरिसकेको बताए ।
“बोर्डको योजना दसैं अगाडिबाट नै ब्रोकर कमिसन घटाउने भए पनि कोभिडको कारण ढिलाइ भयो,” अध्यक्ष ढुङ्गानाले भने,“बोर्डले अध्ययन पनि गरिरहेका छ भने लगानीकर्तासँग पनि छलफल गरिसकेको छ, अब हामी नेप्से र ब्रोकरहरुसँग छलफल गरेर तिहारपछि ब्रोकर कमिसन घटाउने तयारीमा छौं ।” केही प्रक्रिया बाँकी नै रहेकोले केही समय लाग्नासक्ने उनले बताए ।
आइतबार बोर्ड अध्यक्ष ढुङ्गानालाई भेट्न गएको स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीहरुको प्रतिनिधि मण्डलसँग पनि उनले ब्रोकर कमिसन घटाइने र त्यसको लागि तयार हुने बताएका थिए ।
यस्तै बोर्डले मार्जिन कारोबारलाई विस्तार गरी धितोपत्रको तरलता प्रदान गर्ने औजारको रुपमा विकास गर्ने, ऋणपत्रको दोस्रो बजार विस्तार गर्ने, ब्रोकरको शाखा कार्यालयमार्फत् दोस्रो बजारको पहुँच विस्तार गर्ने र आधिकारिक प्रतिनिधिका लागि पाठ्यक्रम विकास गरी ऐन अनुसार सो व्यवस्था प्रचलनमा ल्याउन कार्यविधि बनाउने उनले बताए ।
अहिले दास्रो बजारमा भएको कारोबार, अहिलेको अवस्था, प्रविधिको प्रयोग सबैलाई मुल्याङकन गरेर कमीसन घटाइने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्