एक कार व्यापारीका छोरा बाइडेन, कसरी आइपुगे शक्तिशाली ट्रम्पसँग भिड्न ?
काठमाडौं, कार्तिक २३ । ३२ वर्ष अगाडी आफूले देखेको सपना पूरा गर्दै विश्वकै शक्तिशाली पद अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए बाइडेन । करीब ५० वर्षसम्म सार्वजनिक र दुई पटक उप-राष्ट्रपतिका रुपमा काम गरिसकेपछि जो बाइडेन अहिले राष्ट्रपतिको रुपमा चुनिएका हुन् ।
अमेरिकी सञ्चार माध्यमहरूका अनुसार पेन्सलभेनिया राज्यको मतगणना सकिएसँगै बाइडेनका लागि ह्वाइट हाउस प्रवेशको बाटो खुलेको हो ।बाइडन निकै प्रतिष्पर्धी, लामो, विवादित बनेको निर्वाचन प्रक्रियामा रिपब्लिकन उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराउँदै अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
बीबीसीले गरेको प्रक्षेपण अनुसार उनले यो महत्त्वपूर्ण राज्यमा जित हासिल गरेपछी उनीसँग २७३ इलेक्टरल कलेज मत हुनेछ जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो । यद्यपी उनले राष्ट्रपतिको कुर्सीमा औपचारिक रुपमा बस्न भने जनवरीसम्म कुर्नु पर्नेछ ।
यो पटकको निर्वाचन कसले जित्न सक्छ भन्ने अड्कालबाजी लगाउन सक्ने अवस्था पनि थिएन । यो चुनाव कोरोना महामारीको संक्रमणकालीन समयमा भयो जुन विश्वका १८० भन्दा बढी देशमा फैलिसकेको छ । यस भाइरसले अमेरिकालाई सबैभन्दा नराम्रो तरिकाले प्रभावित गरेको छ । साथै, यो अवधिमा देशभित्र सामाजिक उथलपुथल पनि देखियो ।
यी सबै माहोलका बिच बाइडेनले आफ्ना प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई पराजित गरे । यस वर्षको सुरुवातमा बाइडेनसँग चुनावी अभियान चलाउनका लागि पैसा थिएन, जति आवश्यक पर्छ । उनको गोजी रित्तो थियो । तर उनले चुनौती झेलेरै अभियान सुरु गर्ने निर्णय गरे । त्यो पनि ट्रम्पविरुद्ध, जसले आफ्नो राष्ट्रपतिको कार्यकालको अभियानका लागि अरबौँ डलर जुटाएका थिए ।
अप्रिलदेखि बाइडेनले आफ्नो चुनावी अभियानलाई चन्दा संकलन अभियानमा रूपान्तरण गरे र सम्भवतः ट्रम्पको चुनाव अभियानको लापरवाहीका कारण उनले उनी भन्दा धेरै पैसा संकलन गरे । अक्टोबरको अन्त्यसम्ममा बाइडेनको चुनाव अभियानमा ट्रम्पको अभियान भन्दा १४।४ करोड डलर भन्दा अधिक पैसा थियो । उनले हरेक महत्वपूर्ण राज्यमा यति धेरै टेलिभिजन विज्ञापनहरू दिए, जुन उनका प्रतिद्वन्द्वीहरूले प्रतिस्पर्धा गर्न सकेनन् ।
तर पैसा नै सबथोक होइन । चार बर्षसम्म जब ट्रम्पले कम पैसा कमाएर अभियान चलाउँदै थिए, क्लिन्टनको इन्जिनियरको लागि पैसाको अभाव थिएन । २०२० मा कोरोना महामारीका कारण एक राज्यबाट अर्को राज्यमा गएर, घुमेर चुनाव अभियान सञ्चालन गर्न सम्भव थिएन ।
यस समय बाइडेनले आफ्ना मतदाताहरूलाई उनीहरूको घरमा सजिलैसँग आफ्नो सन्देश पुर्याउन सके, मिडिया विज्ञापनमार्फत् । र उनी ट्रम्पलाई कट्टर प्रतिस्पर्धा दिन रूढीवादी एरिजोना र अत्यधिक प्रतिस्पर्धी जर्जियामा सफल भए ।
निर्वाचनमा ट्रम्पलाई हराउने बाइडनको जन्म सन् १९४२ नोभेम्बर २० मा पेन्सिल्भेनिया राज्यको स्क्रान्टनमा एक मध्यम वर्गीय परिवारमा भएको हो । उनको पूरा नाम जोसेप रोबिनेट बाइडन जुनियर हो ।
उनका पिता जोसेप बाइडन सिनियर सफाइ कारखाना र कार बेच्ने कम्पनीमा काम गर्थे । सानोमा उनको आवाज अड्की(अड्की आउँथ्यो । भक्भकाउँदै बोल्ने बाइडन राम्रोसँग आफ्नो कुरा राख्न समेत सक्दैनथे । पछि उनले लामा वाक्यहरु कण्ठस्थ गर्दै त्यसलाई ऐनाअघि बसेर भन्ने अभ्यास गरे र आफ्नो कमजोरीमा सुधार ल्याए ।
सानोमा उनी एकदमै मेहनती थिए । स्कुल पढ्दा परिवारलाई सहयोग गर्न र आफ्नो पढाइको शुल्क तिर्न बाइडनले विद्यालयका झ्याल पुछ्ने र विवाह समारोहको बगैंचा सफा गर्ने लगायतका कामहरु गरे । पढाइमा उनी सधैँ उत्कृष्ट नै थिए । फुटबल खेल्नमा रूची राख्ने उनको ध्यान विस्तारै राजनीतितर्फ मोडियो र ७८ वर्षको उमेरमा राष्ट्रपतिको यात्रासम्म आइपुगे ।
बाइडनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए । अनि उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो । उनी मतदातालाई आकर्षित गर्न सक्ने नेता हुन् ।
बाइडेन सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपतिको जिम्मेवारीमा थिए । बाइडेनसँग राजनीतिको लामो अनुभव छ भने उनी विदेशनीतिका ज्ञाता हुन् । उनलाई प्रखर वक्ता राजनीतिज्ञका रूपमा समेत चिनिन्छ । उनी स्वभावैले सामान्य नागरिकसँग घुलमिल हुन सक्ने र सहज व्यक्ति भएको बताइन्छ । बाइडेनले अमेरिकी सिनेटका चुनाव सात पटक जितिसकेका छन् । करिब ५० वर्षदेखि उनी अमेरिकाको उच्चस्तरको राजनीतिमा संलग्न छन् ।
यता आप्रवासीहरुप्रति चार वर्षे ट्रम्प प्रशासनले मच्चाएको ताण्डवलाई शान्त पार्दै उनीहरुसमेतको विश्वासमा मुलुकलाई एक बनाएर अगाडी बढाउने नेतृत्व गर्ने जिम्मेवारी सात करोडभन्दा बढी अमेरिकीले ७७ वर्षीय बाइडनको काँधमा हालिदिएका छन् ।ट्रम्पको कार्यकालमा विश्वस्तरमा खुम्चिएको अमेरिकी प्रभाव विस्तारदेखि बेरोजगार बनेका लाखौं अमेरिकन युवाको आशा उहाँमाथि नै आएर अडिएको छ ।
बाइडेनको विजयीपछि नेपाली किन भए खुशी ?
नेपालीहरुको ‘सपनाको देश’ मानिने अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेनको विजयीसँगै नेपाली समूदाय खुशी छन् । चुनावी क्याम्पेनिङमा पनि नेपालीहरुले बाइडेन र कमला ह्यारिसलाई खुलेरै भोट मागें ।
‘नेप्लिज अमेरिकन फर बाइडेन’ चुनावी समूह नै गठन गरेर ठूलो संख्यामा नेपालीहरु प्रचार अभियानमा जुटेका देखिन्थे । जति वाइडेनको समर्थनमा नेपालीहरु थिए त्यति ट्रम्प समर्थनमा सक्रियता देखिएन ।
जिपी कोइराला फाउन्डेसन अमेरिकाका संयोजक सोमनाथ घिमिरेले त बाइडेनको समर्थनमा पटक पटक चुनावी क्याम्पेनिङ चलाइदिए । लोकतन्त्र र उदार अर्थनीतिलाई अवलम्बन गर्न रुचाउने वाइडेनप्रति धेरै नेपालीको भावना जोडिएको पाइयो ।
यद्यपी, वाइडेनको पक्षमा नेपालीहरु उभिनुको पछाडी डोनाल्ड ट्रम्पको अध्यागमन नीति प्रमुख कारक बनेको छ । बाइडेनको विजयीपछि नेपालमा पनि उनलाई बधााई दिनेको आइरो नै लागेको छ ।
प्रतिक्रिया दिनुहोस्