काँग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको निधन, राजनीतिक जीवन यस्तो छ

काठमाडौं , असोज २३ । नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको शुक्रबार निधन भएको छ। ९९ वर्षको उमेरमा शुक्रबार मध्यान्न १२ बजे चावहिलस्थित ओम अस्पतालमा प्रसाईँको निधन भएको हो । उनका श्रीमति, तीन छोरा र दुई छोरी छन् ।

प्रसाईलाई उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि एक साताअघि ओम अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोना संक्रमण भएको थियो । उनी श्रीमति पनि कोरोना संक्रमति भएको बुझिएको छ ।नेपाली सेनाको शव व्यवस्थापन टोलीले दिउँसो ४ बजे प्रसाईँको दहास्कार गर्ने विश्वक्रमाले बताए ।

अस्पताल उपचारकै क्रममा प्रसाईलाई कोरोना संक्रमण देखिएको थियो। उनको शुक्रबार मध्यान्ह १२ बजे निधन भएको कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले जानकारी दिएका छन्। १०० वर्ष टेक्ने क्रमका आदरणीय व्यक्तित्व रामबाबु प्रसाईंको आज निधन भएको छ, शर्माले भनेका छन्, अलग्गै स्वभाव, विचार र शैलीले परिचित उहाँ जमानाको क्रान्तिकारी, बिपी कोइरालाप्रति निष्ठावान् अनि किसुनजीको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष हुनुन्थ्यो।

उनी ०२०४६ देखि २०४८ सम्म झापा काँग्रेसका सभापति, मेची र कोशी अञ्चलको संयोजक हुँदै २०४८ देखि २०५२ सम्म पार्टीको केन्द्रीय कोषाध्यक्ष भएका थिए । कोइराला परिवारका बिपी, गिरिजादेखि कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्णशमशेर राणाहरूसम्म प्रसाईँको राम्रो सम्बन्ध थियो । अध्ययन र राजनीतिक जीवन बिताउने क्रममा नेपाल–भारत गरिरहने प्रसाई काँग्रेसका संस्थापक सदस्य समेत हुन् ।

२००३ सालमा नेपाली काँग्रेस स्थापना भएदेखि प्रसाई ०६२ सम्म काँग्रेसमा सक्रिय थिए । योबीचमा पार्टीका हरेक क्रियाकलामा उनको भूमिका अग्रमोर्चामा रह्यो । मुलुकमा प्रजातन्त्र स्थापनाको यात्रामा हिँडेका प्रसाईले बीपी, गणेशमानहरूसँगै यातना र जेलनेलको यात्रा पनि सँगै गरेका थिए ।

२०१८ सालमा पक्राउ परेर २०२० साल माघसम्म २५ महिना प्रसाईले पहिलोपटक लामो समय जेल जीवन बिताएका थिए । जेलबाट छुटे पनि इलामबाहिर जान नपाउने गरी नौ महिना उनलाई एरियाबन्दी बनाइयो । त्यसपछि प्रसाईले सिलिगुडीमा सात वर्ष प्रवासी जीवन बिताएका थिए ।

२०२७ सालसम्मको प्रवासी जीवन बिताएर उनी २०३३ साल पुस १६ गते मेलमिलाप नीति लिएर बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी र खुमबहादुर खड्कासँग पटनाबाट नेपाल फर्किएका थिए ।राजद्रोहसहितका दुईवटा मुद्दामा प्रसाईले २०३३ पुसदेखि २०३६ असारसम्म झापामा जेल जीवन बिताएका थिए । २०३० को चर्चित नेपालको विमान अपहरण ९बिराटनगर विमान अपहरण समेत भनिन्छ्र०मा समेत उनी पक्राउ परेका थिए ।

त्यतिबेला भारतको सिलिगुडीदेखि पुर्नियासम्मका सीमा बजारदेखि बनारससम्म झिसमिसेमै एकैसाथ छापा हान्दा सिलिगुडीमा रहेका प्रसाईको विस्तरामुनिबाट प्रहरीले दुई सय २० थान गोली बरामद गरेको थियो । त्यसपछि उनी १५ दिन थुनामा र दुई वर्ष एरियाबन्दीमा परेका थिए ।

२०६२ साल भदौ १६ गते सम्पन्न काँग्रेस महाधिवेशनले राजतन्त्र निरपेक्ष भन्ने सिद्धान्त अपनाएपछि उनले भदौ १८ गते नै साधारण सदस्य पनि नरहने गरी राजीनामा दिएका थिए । नेपाली काँग्रेसले लिएको लाइन र छोडेको सिद्धान्तले मर्माहत भएको भन्दै उनले बीपीपुत्र प्रकाश कोइरालाहरूसँग मिलेर त्यही साल दुर्गा पोखरेलको सभापत्विमा नेपाली काँग्रेस राष्ट्रवादी पार्टी स्थापना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्