नेप्से पुग्यो १६ सय विन्दुमा , ३ अर्ब ३५ करोडको कारोबार

बुधबार, असोज २१ । सेयर बजारले नयाँ उचाई तय गरेको छ । खरिदबिक्रीमा माहोल बन्दै जाँदा सूचक मनोवैज्ञानिक रेखा १६ सय विन्दुमा पुगेको छ । बजारले सुस्त तर क्रमशः नयाँ उचाई बनाइरहेको छ । बुधबार नेप्से सूचक १४.६८ अंकले सुधार भएको छ। ०.९३ प्रतिशतले बढ्दा ७ महिनापछि नेप्से १६०० नाघेको हो। सूचकमा सुधार आएसँगै कारोबार रकम ३ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ।

सूचकसँगै दैनिक कारोबार रकममा पनि आकर्षक माहोल पैदा भइरहेको छ । लगानीकर्ताहरु विशेष हाइड्रोपावर र विकास बैंकका सेयरतर्फ आकर्षित भइरहेका छन् । हाइड्रोपावरमा केही समययता लगातारजसो भाउ बढिरहेको छ ।

उत्पादन तथा माइक्रोफाइनान्सको सूचकमा गिरावट आए पनि बाँकी सूचक बढेका छन्।चार वटा कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेपछि सकारात्मक सर्किट लागेको छ। जम्मा १९५ वटा कम्पनीको कारोबार हुँदा १२३ कम्पनीको मूल्य बढेको छ भने ३७ कम्पनीको मूल्य घटेको छ।

लगानीकर्तामा बजार सुधार हुने मनोविज्ञान हावी भएसँगै बजार मूल्य पनि बढिरहेको छ। भोलिका दिनमा बजार सुधार हुने अपेक्षामा नयाँ तथा पुराना लगानीकर्ता पनि सेयर उठाइरहेका छन् भने पुराना लगानीकर्ता पनि भोलिका दिनमा अझ बढेपछि बिक्री गर्ने योजनाले गर्दा दोस्रो बजारमा खासै सप्लाई बढ्न सकेको छैन।

त्यसैले गर्दा नेप्से सूचकलाई टेवा पुर्‍याइरहेको देखिएको छ।पहिलो त्रैमासको ब्याज तथा किस्ता तिर्ने अवधिमै सेयर बजारमा भने उछाल आएको छ। अझै केही दिनसम्म बिक्री गरेको सेयरबाट ब्याज र किस्ताको रकम जुटाउन सकिने हुन्छ। तर लगानीकर्ताले बजार सुधार हुने अपेक्षामा थप सेयर खरिद गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्