नेप्से झण्डै १५ अङ्कले बढ्यो, तीन अर्ब बढीको कारोबार, ७ महिनायताकै उच्च विन्दुमा
काठमाण्डौ , असोज १८ । लकडाउनपछि लगातार उकालो लागेको नेप्से ७ महिनायताकै उच्च विन्दुमा पुगेको छ । गत फागुनमा १६३२ अंकसम्म पुगेर ओरालो लागेको नेप्से लकडाउन खुलेपछि बजार खुलेयता लगातार बढिरहेको छ ।
शेयर बजार परिसूचक नेप्से आइतबार झण्डै १५ अङ्कले बढेको छ । नेप्से १४ दशमलव ७१ अङ्कले बढेर १५ सय ८५ दशमलव ७६ अङ्कमा पुगेको छ ।
जलविद्युत् र सामूहिक लगानी कोषबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेको छ । सोमबार उत्पादन समूहको शेयर एक सय ४५ अङ्कले, जीवन बीमा समूहको ४५, निर्जीवन बीमा समूहको २४, विकास बैंकको २३ तथा बैंक र व्यापार समूहको शेयर १५ अङ्कका दरले बढेको छ ।
सोमबार एक सय ९३ कम्पनीका एक करोड दुई लाख ७४ हजार कित्ता शेयर तीन अर्ब चार करोड ४१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार कर्पोरेट विकास बैंक, शिवम् सिमेन्ट र प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैले कमाएका छन् । तर समग्र शेयर बजार बढे पनि युनियन, दिव्येश्वरी र खानीखोला जलविद्युत् कम्पनीका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।
गत साताबाट बैंकहरुको सेयर मुल्यमा वृद्धि हुँदा नेप्सेले पनि गति लिएको छ । लकडाउनयता बिमा, हाइड्रोपावरसँगै अन्य समूहको सूचकले उचालेको बजारलाई गत साताबाट बैंकिङ समूहले पनि टेवा दिएको छ । जसले गर्दा नेप्से ७ महिना यताकै उच्च बिन्दुमा पुगेको छ भने बजार पुँजीकरणले पनि नयाँ रेकर्ड कायम गरेको छ ।
प्रतिक्रिया दिनुहोस्