जटिल बन्दै डा. केसीको स्वास्थ्य , अक्सिजन दिन थालियो, माग पूरा गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड

काठमाडौं, असोज १८ । २१ दिनदेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीको श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि अक्सिजन दिइएको छ । केसीका सहयोगी प्रितम सुवेदीले श्‍वासप्रश्‍वासमा समस्या देखिएको बताए ।

सरकारले डा। केसीको सत्याग्रहलाई बेवास्ता गरेको उनले बताए । डा. केसीले यसअघि कुनै पनि औषधि उपचार नलिएकाले स्वास्थ्य थप जटिल बन्दै गएको पनि उनले जानकारी दिए ।

डा। केसीले गत भदौ २९ गते ६ बुँदे माग राखेर जुम्लाको एक मन्दिरमा सत्याग्रहमा सुरु गरेका थिए । सत्याग्रहको नवौं दिनमा उनी काठमाडौं त्रिवि शिक्षण अस्पतालमा सत्याग्रह बस्‍न आउँदा प्रहरीले अपहरण शैलीमा ट्रमा सेन्टरमा लगेको थियो ।

डा। केसीले मास्कको प्रयोग र दूरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्न, कोभिड तथा अन्य रोगका सबै बिरामीका लागि समेत उचित उपचारको व्यवस्था गर्न आग्रह गरेका थिए ।

यसअघि सरकारले १० साउन ०७५ मा गरेको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न माग राखेका थिए ।

यता नेपाली कांग्रेसले डा। गोविन्द केसीले राखेका मागहरु जायज रहेको भन्दै ऐक्यबद्धता जनाएको छ ।कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले डा। केसीको मागमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रुपमा विज्ञप्ति जारी गरिसकेको बताए । तर पनि केन्द्रीय कार्यसमिति बैठकबाटै थप निर्णय गरी ऐक्यबद्धता जनाउने तयारी भइरहेको उनले बताए ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले चिकित्सा शिक्षाको सुधार जस्तो लोकहितको मागप्रति सरकार उदासिन रहेको भन्दै चिन्ता प्रकट गरेका छन् । डा। गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको भन्दै नागरिक जीवन रक्षाको भार बोध गर्न सरकारलाई अध्यक्ष राणाले आह्वान गरेका छन् । डा। केसीको जायज माग पूरा गर्न गंभीर बन्नु पर्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्