सेयर बजारमा दोहोरो अंकको उछाल, नेप्से २०.६१ अंकले बढ्दा करिब ३ अर्बको कारोबार

काठमाडौं, असोज १५ । साताको कारोबारको अन्तिम दिन आज सेयरबजारमा उछाल देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से २०.६१ अंकले बढेको हो। साताको अन्तिम दिन सेयर बजारमा उत्साह देखिएको हो ।

भदौमा अर्थमन्त्रीबाट राजीनामा दिएका अर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहकार बनाउने निर्णयपछि केही निराश भएका सेयर लगानीकर्ताहरु खतिवडा अमेरिकाका लागि राजदूतमा सिफारिस भएसँगै उत्साही भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार तथा निवर्तमान अर्थमन्त्री खतिवडालाई राजदूत सिफारिस गरेसँगै करिब २ सातायता करेक्सन देखिएको सेयर बजारमा आज एकाएक उछाल देखिएको छ ।

आज १ सय ९२ वटा कम्पनीको ९९ लाख ३० हजार कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ४७ हजार ३२ पटक भएको किनबेचमा २ अर्ब ८० करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

आज १२ समूहमध्ये जलविद्युत्, म्युचुअल फन्ड र अन्य समूहबाहेक बाँकीको कारोबार सूचक बढेको छ। आज बैंक अफ काठमाण्डूको सर्वाधिक १४ करोडको सेयर कारोबार भएको छ। त्यस्तै, शिखर इन्स्योरेन्सको १३ करोडको, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १२ करोडको, नेपाल पुनर्बीमा कम्पनीको ८ करोडको कारोबार भएको छ।

लगानीकर्ताहरुले १६ प्रतिशत लाभांश घोषणा गरेको बैंक अफ काठमण्डूको सेयरमा लगानी बढाएका छन् । बैंकको आज १४ करोड ४२ लाख ४६ हजारको सेयर कारोबार भएको छ । यस्तै शिखर इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर, नेपाल पुनर्बिमा कम्पनी, नेको इनस्योरेन्स कारोबार रकममा अगाडि देखिएका छन् ।

कमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ। बैंकको प्रतिकित्ता सेयर मूल्य १५ रुपैयाँले बढेको छ। त्यस्तै, कामना सेवा विकास बैंक, मल्टिपर्पस फिनान्स कम्पनीलगायतको पनि सेयर मूल्य बढेको छ। सर्वाधिक गुमाउनेमा माउन्टेन हाइड्रो नेपाल रहेको छ। कम्पनीका लगानीकर्ताले ९.८० प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्