पुनर्कर्जाको लागि आवेदन दिने म्याद थपियो

काठमाण्डौ , असोज १३ । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन दिने म्याद थपेको छ । तोकिएको समयभित्र अपेक्षित रूपमा आवेदन नआएपछि राष्ट्र बैंकले पुनर्कर्जाको आवेदन संकलनको म्याद थपेको हो ।

यसअघि असोज १४ गतेसम्म पुनर्कर्जाको आवेदन दिन बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको राष्ट्र बैंकले लकडाउन र निषेधाज्ञाको कारण असोज ३० गतेसम्म म्याद थपिएको जनाएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडा गरेको छ । यही रकम सदुपयोगको लागि कार्यविधि बनाइ सकेको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग आवेदन माग गरेको हो ।पुनर्कर्जा कोषमार्फत बैंक तथा वित्तीय संस्थाले कोरोना प्रभावित ऋणीसँग तीनदेखि पाँच प्रतिशतसम्म मात्रै ब्याजदर असुल्न पाउनेछन् ।

लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा राष्ट्र बैंकले दुई प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई कर्जा दिन्छ, बैंक तथा वित्तीय संस्थाले ऋणीबाट बढीमा पाँच प्रतिशत मात्रै ब्याज लिन पाउँछन् ।विशेष पुनर्कर्जामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक प्रतिशतमा कर्जा दिन्छ, बैंक तथा वित्तीय संस्थाले ऋणीबाट बढीमा तीन प्रतिशत मात्रै ब्याज लिन पाउँछन् ।

साधारण पुनर्कर्जामा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट तीन प्रतिशतमा कर्जा लिएर ऋणीसँग बढीमा पाँच प्रतिशत ब्याज लिन पाउँछन् ।राष्ट्र बैंकले सोमबार सूचना जारी गरी म्याद थपको जानकारी दिएको छ ।यता राष्ट्र बैंकले वित्तीय क्षेत्रका ग्राहकको संरक्षण तथा गुनासो सुनुवाइलाई प्रभावकारी बनाउने भएको छ ।

यसका लागि वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि ०७७ जारी गरिएको छ । राष्ट्र बैंकले यसअघि नै गुनासो सुनुवाइ गर्दै आएको छ । अहिले कार्यविधि बनाएर थप प्रभावकारी बनाउन लागिएको हो ।

बैंक तथा वित्तीय संस्थाका ग्राहकले वित्तीय सेवा प्रदायकबाट निष्पक्ष, पारदर्शी, विश्वसनीय साथै कानुन, नीति, निर्देशनअनुरूपको वित्तीय मध्यस्थता सेवा प्राप्तिको सुनिश्चितता प्रदान गरी वित्तीय ग्राहकको पीरमर्का, गुनासो सहज र सरल रूपमा प्राप्त गरी उचित व्यवस्थापन गरी वित्तीय ग्राहकको हित संरक्षण गर्न कार्यविधि जारी गरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्