बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाह घट्यो, यस्तो छ अवस्था

काठमाडौं, असोज ११ । चालु आर्थिक बर्षको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ०.१ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो महिना देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति बिषयक प्रतिवेदनले यस्तो देखाएको हो ।

गत आवको पहिलो महिनामा पनि निक्षेप ०.४ प्रतिशतले घटेको थियो ।तर, वार्षिक बिन्दुगत आधारमा २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९ प्रतिशतले बढेको छ ।

साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.७ प्रतिशत, ३२.२ प्रतिशत र ५०.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३२.९ प्रतिशत र ४८ प्रतिशत रहेको थियो ।

यसैगरि साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३.८ प्रतिशत रहेको छ । २०७६ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४४.७ प्रतिशत रहेको थियो ।

यस्तै, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.५ प्रतिशतले घटेको छ । अघिल्लो  वर्षको सोही अवधिमा यस्तो कर्जा ०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा भने २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १०.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.६ प्रतिशतले र वित्त कम्पनीहरुको ३.१ प्रतिशतले घटेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह ०.९ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।

२०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । २०७६ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.१ प्रतिशत र १३.६ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।

आर्थिक वर्ष २०७७÷७८ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा  १.६ प्रतिशतले घटेको छ भने निर्माण क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा, क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १.४ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ०.५ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.१ प्रतिशतले र मार्जिन प्रकृति कर्जा  ०.३ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा २.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ९ प्रतिशतले र हायर पर्चेज कर्जा १.४ प्रतिशतले घटेको राष्ट्र बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्