सिभिल मल व्यापार संघको अधिवेशन सम्पन्न, अध्यक्षमा बिजय महर्जन

काठमाडौं । सिभिल मल व्यापार संघको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएकोछ ।
संघको शुक्रबार काठमाडौंमा भएको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले संघका अध्यक्ष बिजय महर्जनलाई निर्विरोध रुपमा अध्यक्षमा चयन गरेकोछ ।
संघको नयाँ कार्यसमितिमा उपाध्यक्षमा सुजित तण्डुकार, महासचिवमा रत्न बहादुर घिमिरे, सचिवमा धनबिर श्रेष्ठ, कोषाध्यक्षमा सुनिल श्रेष्ठ, सह–कोषाध्यक्षमा अशोक पौडल चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा कविन लामा मोक्तान, उषा गुरुङ्ग, अन्जु चाम्लिङ्ग, धन बहादुर विक र रमेश श्रेष्ठ रहेका छन् ।
साधारण सभामा चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सम्वृद्ध मुलुक निर्माणमा व्यवसायीको ठूलो भूमिका रहने बताए । व्यवसायीलाई कर तिर्ने वातावरण सृजना गरि दिन सरकारलाई आग्रह गर्दै उनले भने,“व्यक्ति विशेषका लागि कानून बनेको छ, समग्र व्यवसायीका लागि कानून बन्नुप¥यो,” संघको सातौ साधारण सभाका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले व्यवसायीलाई कर तिर्न सहजी करण नभएको बताउँदै बिल दिने र लिने व्यवस्था तत्काल मिलाईदिन राज्यलाई आग्रह गरे । उनले भन्सारले छुटाएको सामानलाई राजश्व अनुसन्धानले पुनः अनुसन्धान गर्न आवश्यक नरहेको बताए । व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न भन्सार सहजीकरणको लागि वैज्ञानिक प्रणाली अनुसार बस्तुको मुल्यांकन भन्सार दर कायम गर्नुपर्ने बताए ।
अध्यक्ष श्रेष्ठले व्यवसायीहरु हक अधिकार प्राप्तिको लागि एक हुनुको विकल्प नभएको बताउँदै सबै व्यवसायीहरुलाई एक हुन आग्रह गरे । मुलुक संघियतामा गईसकेकाले समय अनुसार व्यापार व्यवसाय गर्नुपर्ने बताए ।
कार्यक्रममा कर सेवा कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत शिसिर घिमिरेले सबै व्यवसायी तथा करदाताहरुलाई सहकार्य गर्दै अघिबढ्ने बताए । उनले संघिय राज्यमा अर्थतन्त्र व्यवस्थापनमा चुनौति रहेको बताउँदै व्यवसायीलाई मर्यादित र जिम्मेवार भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरे । व्यक्ति भन्दा मुलुक बलियो र सम्वृद्ध हुनु पर्ने तर्क गर्दै उनले खरिद बिक्रीका कागजात व्यवस्थित गरि करको दायरामा रहि व्यवसाय सञ्चालन कर सेवा कार्यालयलाई सहजीकरणको भूमिका खेलिदिनु हुुन व्यवसायीलाई आग्रह गरे ।
सिभिल मल व्यापार संघका अध्यक्ष एवं सभाका सभापति बिजय मर्हजनले व्यवसायीहरु एक हुनुको विकल्प नरहेको बताउँदै सबै व्यवसायीहरुलाई आफ्ना व्यवसायीक हक अधिकार र लक्ष्य प्राप्तिका लागि एकिकृत हुनु आजको आवश्यकता भएको बताए । उनले भने,‘ राज्यको नियम कानून अनुसार कर तिर्नु व्यवसायीको दायित्व हो । यसको हामी तयार छौं । राज्यले सहज वातावरण बनाउनु पर्छ । ’
कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले देशमा देश वर्षे द्वन्द, दैविप्रकोप, राजनीतिक अस्थिरताले गर्दा मुलुकले आर्थिक विकासमा फड्को मार्न नसकेको बताउँदै अब आर्थिक सम्वृद्धिको विकल्प नभएको बताए । उनले व्यवसायीहरु एक हुनु आवश्यक भएकाले साना व्यवसायीहरुको राष्ट्रिय महासंघ स्थापना गर्नु परेको बताउँदै सबै व्यवासायीलाई एक ढिक्का हुन आग्रह गरे । उनले राज्य वैदेशिक रोजगार र रेमिट्यान्सको भरमा ढुक्क हुनु कदापी राम्रो नभएको बताउँदै उनले वैदेशिक रोजगारको गन्तव्य मुलकहरुमा कुनै घटना घटेको अवस्थामा अर्थतन्त्रमा ठूलो धक्का पर्ने बताए ।
कार्यक्रममा सिभिल मलका महाप्रबन्धक विश्व प्रकाश मास्केले शुभकामना दिएका थिए ।
संघका महासचिवले स्वागत मनतव्य दिएका थिए । कार्यक्रममा विभिन्न व्यवसायी तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । वि.सं २०६७ मा व्यवसायीको हक र हितका लागि स्थापित संघमा हाल १७० व्यवसायी आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्