२८ वटा स्थानीय तहसहित ५७८ वडाको मतपरिणाम सार्वजनिक

काठमाडौं । सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा १७ वटा स्थानीय तहको मतगणना सम्पन्न भई परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज दिउँसो १ बजेसम्म प्राप्त विवरण अनुसार, प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस ७ , नेकपा एमाले ४, नेकपा माओवादी केन्द्र ५, संघीय समाजवादी ४, नेपाल लोकतान्त्रिक फोरम २ र राष्ट्रिय जनता पार्टी नेपाल ४ स्थानीय तहमा विजयी भएका छन् ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार हालसम्म ५७८ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको छ ।

मतगणना बाँकी रहेका ११८ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना चालु गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको आयोगले जानकारी दिएको छ ।

मतगणना कार्यलाई शीघ्र सम्पन्न गर्न हाल ३३९ वटा मतगणना टोलीबाट मतगणना कार्य भइरहेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

त्यस्तै राजपा नेपालका वडाध्यक्षको उम्मेदवारको निधन भएका कारण स्थगन भएको राजविराज नगरपालिका–१५ मा आज शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्