काभ्रेको महाभारत गाउँपालिका तेस्रो वर्ष पनि बेरुजु शून्य बन्न सफल

काठमाडौं , ५ जेष्ठ । स्थानीय सरकारमा वेरुजु बढिरहको बेला काभ्रेको महाभारत गाउँपालिका भने लगातार तेस्रो वर्ष बेरुजु शून्य स्थानीय तह बन्न सफल भएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१÷८२ मा पनि महाभारत गाउँपालिकामा शुन्य बेरुजु रहेको छ । त्यसअघिका दुई आर्थिक वर्षमा पनि महाभारत गाउँपालिकामा बेरुजु शून्य रहेको थियो ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा महभारत गाउँपालिकामा १ अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरिक्षण गरिएको थियो । त्यसमा एक रुपैयाँ पनि बेरुजु नदेखिएको हो ।

मण्डनदेउपुर नगरपालिकामा एक अर्ब ९७ करोड २० लाख ३७ हजार रुपैयाँको लेखापरिक्षण भएकोमा शुन्य दशमलव शून्य पाँच प्रतिशत अर्थात् १० लाख ४९ हजार रुपैयाँ मात्रै बेरुजु देखिएको छ ।

पाँचखाल नगरपालिकामा शून्य दशमलव १ प्रतिशत बेरुजु देखिएको छ । पाँचखालमा एक अर्ब ८६ करोड ७६ लाख २३ हजार रुपैयाँको लेखापरीक्षण हुँदा १८ लाख ३२ हजार मात्रै बेरुजु देखिएको छ ।

१३ पालिकामध्ये ११ पालिकाको एक प्रतिशत भन्दा कम बेरुजु देखिएको छ । जसअनुसार बनेपा नगरपालिकामा एक अर्ब ५९ करोड ८५ लाख ९२ हजार रुपैयाँको लखापरीक्षण हुँदा एक करोड १२ लाख ७७ हजार रुपैयाँ अर्थात् शून्य दशमलव ७१ प्रतिशत रकम बेरुजु देखिएको छ ।

यसैगरी धुलिखेल नगरपालिकामा २ अर्ब एक करोड ७५ लाख ८६ हजारको लेखा परीक्षण हुँदा शून्य दशमलव ६८ प्रतिशत बेरुजु देखिएको छ । यो पालिकामा बेरुजु रकम १करोड ३७ लाख ३८ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

यस्तै भुम्लु गाउँपालिकामा पनि शून्य दशमलव ६८ प्रतिशत रकम बेरुजु देखिएको छ । भुम्लुमा एक अर्ब ४१ करोड ९३ लाख १९ हजारको लेखापरिक्षण हुँदा ९४ लाख १४ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

रोशी गाउँपालिकामा एक अर्ब ७६ करोड ५७ लाख ७९ हजार रुपैयाँको लेखापरिक्षण हुँदा शून्य दशमलव ६२ प्रतिशत अर्थात् एक करोड १० लाख १२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

यसैगरी खानीखोला गाउँपालिकामा ८६ करोड ९५ लाख ५१ हजारको लेखापरिक्षण हुँदा शून्य दशमलव ५८ प्रतिशत अर्थात ५० लाख ४१ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

बेथानचोक गाउँपालिकामा शुन्य दशमलव ५५ प्रतिशत बेरुजु देखिएको छ । यहाँ एक अर्ब ४७ करोड ८८ लाख ४८ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ८१ लाख ३९ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

तेमाल गाउँपालिकामा १ अर्ब ३२ करोड ४३ लाख २८ हजार रुपैयाँको लेखापरीक्षण हुँदा शुन्य दशमलव ५ प्रतिशत अर्थात ६५ लाख ९३ हजार बेरुजु देखिएको छ ।

चौरी देउराली गाउँपालिकामा एक अर्ब ४३ करोड ७५ लाख ७ हजार रुपैयाँको लेखापरीक्षण हुँदा शून्य दशमलव १८ प्रतिशत अर्थात् २५ लाख ५८ हजार बेरुजु देखिएको छ ।

जिल्लामा सबैभन्दा बढी बेरुजु पनौती नगरपालिकामा देखिएको छ । पनौती नगरपालिकामा दुई अर्ब ५३ करोड ७९ लाख ९९ हजार रुपैयाँको लेखापरीक्षण भएकोमा ३ दशमलव शून्य ४ प्रतिशत अर्थात् ७ करोड ७० लाख २९ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

पनौती पछि बढी बेरुजु नमोबुद्ध नगरपालिकामा देखिएको छ । नमोबुद्ध नगरपालिकामा एक अर्ब ८४ करोड ३६ लाख ४१ हजार रुपैयाँको लेखापरीक्षण हुँदा १.३८ प्रतिशत अर्थात् दुई करोड ५४ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्