अस्वस्थ प्रतिस्पर्धा नगर्न बैंकरलाई गभर्नरको निर्देशन, बैंकका सबै शाखा खुला राख्न आग्रह

काठमाडौं, भदौ २३ । अहिले एक बैंकले अर्को बैंकको कर्जा तान्ने, सहवित्तीयकरणमा नेतृत्व गरेको गरेको बैंकले अरु बैंकलाई सोध्दै नसोधी एकलौटी निर्णय रुपमा कर्जा दिनेलगायत गतिविधि बढेको भन्दै राष्ट्र बैंकमा गुनासो पुगेको छ ।

कतिपय बैंकले आधार दरभन्दा सस्तोमा कर्जा दिने, बैंकहरूमा अधिक तरलता भएपछि लघुवित्तहरूले बैंकबाट सस्तो ब्याजदरमा बागर्नेनिङ गरेर कर्जा लिएर पहिलेको कर्जा तिर्ने जस्ता गतिविधि पछिल्लो समयमा बढेको बैंकरहरूले नै बताउँदै आएका छन् ।

केन्द्रीय बैंकले विपन्‍न वर्गबाहेक अन्य क्षेत्रमा आधार ब्याजदरभन्दा तल गएर कर्जा लगानी गर्न नपाउने व्यवस्था गरेको भए पनि पछिल्लो समय त्यसको उल्लंघन बैंकहरुले गर्दै आएका थिए ।
यसैबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूलाई ऋण खोसाखोसको प्रतिस्पर्धा रोक्ने निर्देशन दिएका छन् । कोभिड १९ का कारण नयाँ कर्जाको माग नआउँदा अहिले बैंकहरूमा एक(अर्काको ग्राहक खोसाखोस गरेर ऋण लगानी गर्ने प्रतिस्पर्धा चलेको छ ।

एकीकृत निर्देशन जारी गर्नुपूर्व केन्द्रीय बैंकले मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग अनलाइन माध्यबाट छलफल गर्दै बैंकहरूबीच पछिल्लो समय देखिएको अस्वस्थ प्रतिस्पर्धा रोक्ने गभर्नर अधिकारीले निर्देशन दिएका हुन् ।

बैंकहरूबीच अहिले प्रतिस्पर्धात्मक व्यवसाय गर्ने समय नभएको र आफू र अरुलाई जोगाएर अगाडी बढ्नुपर्ने समय भएकाले अस्वस्था प्रतिस्पर्धामा नजान बैंकहरूलाई गभर्नर अधिकारीले भनेको छलफलमा सहभागी एक अधिकारीले बताए ।गभर्नर अधिकारीले कर, गाडीलगायत व्यक्तिगत प्रकृतिका कर्जाको ब्याजदर फिक्स गर्नेगरी एकीकृत निर्देशन जारी गर्ने बताएको ती बैंकरले बताए ।

यता नेपाल राष्ट्र बैंकले यही भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न आग्रह गरेको छ । सरकारको राजस्व बुझाउने प्रयोजनका लागि आजदेखि लागू हुने गरी भदौ २५ गतेसम्म राजस्व कारोवार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा र काउण्टर खुला गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

यस्तै केन्द्रीय बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडको कार्यालयसमेत खुला राख्न निर्देशन दिएको छ । पछिल्ला दिनमा निषेधाज्ञाका कारण बैंक तथा वित्तीय संस्थाले सीमित मात्रै शाखा कार्यालय सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्