काँग्रेसको १४ औं महाधिवेशन अन्यौलमा, हुन थाल्यो विकल्पबारे बहस सुरु

काठमाडौं , भदौ २१ । काँग्रेसको १४ औं महाधिवेशन अन्यौलमा बन्न पुगेको छ ।कोरोना महामारीले १४ औं महाधिवेशन अन्यौल बनेपछि नेपाली काँग्रेसमा यति बेला विकल्पबारे बहस सुरु भएको छ । फागुन ७ देखि १० का लागि निर्धारित महाधिवेशन नहुने करिब निश्चित भएपछि महाधिवेशनको मोडालिटी परिवर्तनमा बहस हुन थालेको हो ।

कोरोना महामारीका बीच वर्तमान कार्यविधिभित्र रहेर निर्धारित मितिमा महाधिवेशन गर्न सम्भव नभएको काँग्रेस नेताहरुको बुझाइ छ । किनकि पार्टी संयोजन, क्रियाशील सदस्यता वितरण र नवीकरणका कार्यसूचीमै कोरोनाको चुनौती खडा भएको छ ।

कोरोना रोकथामका लागि जारी निषेधाज्ञाले गर्दा विभिन्न जिल्लामा निर्धारित कार्यसूचीअनुसार काम हुन नसकेको जानकारी पार्टीको केन्द्रीय कार्यालयमा आइपुगेको छ ।
भदौको आधाआधी बित्दासमेत केही जिल्लामा पार्टी संयोजन, क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सम्पन्न हुन सकेको छैन ।

कोरोना संक्रमण बढ्दै गएका कारण अझै केही साता त्यस प्रकारका राजनीतिक गतिविधि अघि बढाउन सम्भव नहुने र कात्तिक एवं मंसिरको पहिलो सातासम्म दशैं–तिहार र छठ जस्ता चाडपर्व पर्ने भएकाले निर्धारित कार्यसूचीअनुसार फागुनमा महाधिवेशन हुन नसक्ने देखिएको हो ।

तल्लो तहको अधिवेशन पुस ६ बाट सुरु भई माघ ६ गतेसम्म सक्ने काँग्रेसको कार्यतालिका छ । यस्तो अवस्थामा काँग्रेसका लागि केन्द्रदेखि बुथ तहसम्म आठ तहको नेतृत्व छनोट प्रक्रिया कठिन र चुनौतीपूर्ण बनेको हो ।

काँग्रेसले ६ हजार ७ सय ४३ स्थानीय तहका वडा, ७ सय ५३ स्थानीय तह, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र, १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला जिल्ला, ७ प्रदेश र केन्द्र गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्नेछ ।
यता आगामी फागुनमा सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद विधानतः थप गरिएको एक वर्ष पूरा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्