उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपियो ,निषेधाज्ञाको स्वरुप परिवर्तन गर्न व्यवसायीहरुको जोड

काठमाडौं , भदौ १७ ।काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थपिएको छ । कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि यो एक साता निषेधाज्ञा थपिएको हो । आज राति १२ बजेदेखि २४ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको एक उच्च अधिकारीले बताए ।। गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । एक प्रमुख जिल्ला अधिकारीका अनुसार त्यसबारे केहीवेरमा सूचना जारी गरेर जानकारी गराइनेछ ।औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो ।

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो ।होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए ।

तर, १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । जुन बुधबार मध्यरातिबाट सकिँदैछ ।योसँगै अब २४ भदौ मध्यरातसम्म काठमाडौंमा निषेधाज्ञा हुनेछ । यसैबीच निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीहरुले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

सरकारले लकडाउन र निषेधाज्ञाको अवधिमा कोभिड १९ संक्रमण रोकथामका लागि व्यवस्थापन पक्षमा राम्रो काम गर्न नसक्दा मानिसको जीवन र देशको अर्थतन्त्र दुवै जोखिममा परेको व्यवसायीहरुको भनाई छ ।
पछिल्लो समय लामोसमय लकडाउन गर्ने अधिकांश मुलुकहरुको अर्थतन्त्रमा ठूलो क्षति भएको देखिन्छ । पछिल्लो तथ्याङ्क अनुसार भारतको कुल गार्हस्थ उत्पादनमा २४ प्रतिशत गिरावट आइसकेको छ ।

त्यस्तै अन्य मूलुकको आर्थिक वृद्धिदर पनि नकारात्मक असर परेको देखिन्छ । कोभिड रोकथाममा राम्रो व्यवस्थापन गर्न सफल चिनमा भने आर्थिक वृद्धिदर ३ प्रतिशतभन्दा माथि देखिएको छ ।

भारतको कूल गार्हस्थ उत्पादनमा ठूलो गिरावट आएपछि नेपालको अर्थतन्त्रमा पनि त्यसको असर पर्न सक्ने देखिन्छ । त्यसैले अर्थतन्त्रलाई जोगाउनका लागि पनि निषेधाज्ञाको स्वरुप परिवर्तन गरी नयाँ रणनीतिका साथ कोभिड नियन्त्रणका लागि काम गर्नुपर्ने सुझाव व्यवसायीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्