शेयर बजारमा रौनक, ४ अर्ब बढीको कारोबार
काठमाडौं, भदौ १७ । बुधबार सेयर बजारमा ४ अर्ब बढीको कारोबार भएको छ भने नेप्से परिसूचक १५ सय अंक भन्दा माथि पुगेको छ । नेप्से परिसूचक २५ दशमलव ५८ अंकले बढेर १ हजार ५ सय १० दशमलव ५७ अंकमा बन्द भएको छ । नेप्से ६ महिना पछि १ हजार ५ सय भन्दा माथिको अंकमा पुगेको छ ।
यस अघि नेप्से २०७६ फागुन १८ गते ९मार्च १० मा १ हजार ६ सय २० अंकमा पुगेको थियो भने त्यसको दुई दिन पछि १ हजार ५ सय १ अंकमा झरेको थियो । त्यस यता निरन्तर गिरावट आउदा २०७७ असार १५ गते ९जुन २९० मा १ हजार १ सय ७८ अंकमा झरेको थियो । त्यसयता सेयर बजार फेरी बढ्न थालेको थियो ।
लकडाउनका कारण अर्थतन्त्रमा ठूलो असर परेपनि सेयर बजारमा भने चमक देखिएको छ । यसअघि लकडाउनमा लामो समय बन्द रहेको सेयर बजार पछिल्लो पटक भने अनलाइन कारोबार सम्भव भएपछि बन्द भएको छैन । निषेधाज्ञामा पनि खुलेको बजारमा लगानीकर्ताको आकर्षण देखिएको छ । अहिले ब्रोकर कार्यालयमा जाने अवस्था पनि छैन त्यसैले लगानीकर्ताले अनलाइनमार्फत कारोबार गरिरहेका छन् । त्यसैको असर बुधबरको सेयर बजारमा परेको मान्न सकिन्छ ।
बुधबार १ सय ८६ कम्पनीको ४ अर्ब १८ करोड १० लाख ३६ हजार रुपैयाँ बढीको ९६ लाख ८६ हजार ९ कित्ता सेयर खरिद विक्री भएको छ । यो कारोबार नेप्सेको इतिहासमा एकै दिनमा भएको कारोबारलाई हेर्नेहो भने बुधबार दोस्रो ठूलो कारोबार हो । यसअघि २०७६ फागुन १५ गते ४ अर्ब ३६ करोड रुपैयाँ बारबरको कारोबार भएको थियो ।
बजारमा कारोबार बढ्नुको कारण अर्थतन्त्रका अन्य सबै क्षेत्र बन्द रहनु पनि हो । अन्य क्षेत्रमा लगाउने पैसा सेयर बाजरमा भित्रिदा कारोबार रकम बढ्न गएको आकलन लगानीकर्ताहरुको छ ।
बुधबार जीवन बीमा र निर्जीवन बीमा समूह बाहेकका सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै अन्य समूहमा वृद्धि भएको छ भने बैंकिङ, विकास बैंक, फाइनान्स लगायतका समूहमा पनि आकर्षक वृद्धि देखिएको छ ।
सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको ६७ करोड ४२ लाख रुपैयाँ बढीको भएको छ भने अन्य आठवटा कम्पनीको कारोबार पनि १० करोड रुपैयाँ भन्दा बढीको भएको छ । बुधबार १५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेमा उच्च कारोबार हुँदा परिसूचकले पनि साथ दिएको छ । तरपनि प्रभु इन्स्योरेन्स र प्रुडेन्सीयल इन्स्योरेन्सको सेयर मूल्य ४ प्रतिशत बढीले घटेको छ । शेयर बजारमा सूचीकृत ३३ वटा हाइड्रोपावर कम्पनीहरूमध्ये २२ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
आज बजार खुलेको सुरुको करिब साढे दुई घन्टामा नै २२ वटा हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो।पछिल्लो समय सस्तो रहेको हाइड्रोपावर कम्पनीको शेयरमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। सूचीकृत अन्य हाइड्रोपावरको शेयरमूल्य पनि उच्च दरले बढेको छ।
केही समय अघिसम्म १ सय रुपैयाँभन्दा तल रहेको हाइड्रोपावर कम्पनीहरूको शेयरमूल्य अहिले १०० रुपैयाँभन्दा माथि उक्लिन थालेको छ। केहि हाइड्रोपावर कम्पनीमा मात्रै १ सय रुपैयाँभन्दा तल शेयरमूल्य रहेको छ।
प्रतिक्रिया दिनुहोस्