एकै दिन २८ जना फरार अभियुक्त पक्राउ
काठमाडौं, भदौ १७ ।एकै दिन २८ जना फरार अभियुक्त पक्राउ परेका छन् । दण्डहिनता विरुद्धको अभियान अन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रही विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २८ जना फरार प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा स्याङजा कोल्मा घर भई हाल पोखरा महानगरपालिका–२७ बस्ने सरकारी छाप दस्तखत कीर्ते मुद्दामा १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकीएका २१ वर्षीय अनिल थापा मगर, पोखरा महानगरपालिका–१० बस्ने बैंङकिङ् कसुर मुद्दामा ७ दिन कैद सजाय र ९ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएका ५३ वर्षीय धिरज गुरुङ छन् । त्यस्तै केही सार्वजनिक अपराध मुद्दामा ३ सय ५० रुपैयाँ देखि ५ हजार रुपैयाँसम्म जरिवाना तोकी फरार रहेका कास्की जिल्ला अन्तर्गतका विभिन्न स्थानमा बस्ने २६ जना प्रतिवादीहरु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत कास्कीमा पेश गरेको उक्त कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्