बालुवाटारमा ओली र प्रचण्डबीच छलफल , सचिवालय बैठकअघि किन गरे भेटवार्ता ?

काठमाडौं , भदौ १२ । प्रधानमन्त्री केपी शर्माओली र नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । ओली र प्रचण्डबीच शुक्रबार दिउँसो १२ बजेपछि बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

उनीहरुबीच शनिबार बस्ने सचिवालय बैठकको तयारी र पार्टीभित्रको समस्या समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ ।

पार्टीमा ओलीको राजीनामा मागिएपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए । कार्यदलले ओलीले राजीनामा दिन नपर्ने र प्रचण्डले कार्यकारी अधिकारसहितको अध्यक्षको भूमिका निभाउने लगायतका सुझाव दिएको थियो ।

गत मंसिर ४ को सहमतिलाई पुनव्र्याख्या गर्दै कार्यदलले प्रतिवेदन तयार पारेपनि अर्का बरिष्ठ नेता माधवकुमार नेपालले उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीबारेको प्रतिवेदन मौन छ ।

महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न शनिबार बिहान ११ बजे सचिवालय बैठक बस्दैछ ।

यता बैठकले पार्टीमा देखिएको विवाद मिलाउन कार्यदलले बुझाएको प्रतिवेदन छलफलसहित पारित गर्ने भएको छ ।

कार्यदलको प्रतिवेदन पास भएसँगै नेकपामा तत्कालका लागि विवाद मत्थर हुने र नेताहरू महाधिवेशन केन्द्रित हुने भएका छन् । चैत २५ देखि ३० गतसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यदलले प्रतिवेदन बुझाएको छ । त्यसैले अब आठ महिना नेकपामा नेतृत्वका लागि तीव्र रस्साकस्सी चल्ने देखिन्छ ।

पार्टीमा देखिएको विवाद मत्थर भएसँगै प्रधानमन्त्री केपी ओलीले मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । मन्त्रिपरिषद्् पुनर्गठनसम्बन्धी विषय कार्यदलकै प्रतिवेदनमा उल्लेख छ ।

नेकपाको कार्यदलले बुझाएको प्रतिवेदनमाथिको औपचारिक छलफल सचिवालय र स्थायी समितिबाट टुंगिएपछि मन्त्रिपरिषद् हेरफेर हुने अनुमान गरिएको छ । सम्भवतः भदौ २० गतेसम्म प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषदमा केही पुराना अनुहार बाहिरिएर नयाँको प्रवेश हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्