पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व आवश्यक : नेता सिंह

काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व काँग्रेसभित्र आवश्यक रहेको बताएका छन् । नेपाल महिला संघका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवसका अवसरमा संघको केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान अवस्थामा महिलाको चुनौती र नेपाली कांग्रेसको विधान’ विषयक भर्चुअल अन्तक्रियामा उनले कांग्रेसको नेतृत्वप्रति कार्यकर्ताको भरोसा गुम्दै गएको बताएका हुन् ।

‘कांग्रेस बलियो भएन भने लोकतान्त्रिक व्यवस्था बलियो हुन सक्दैन, काँग्रेस बलियो बनाउनका लागि ठिक नेतृत्वको हातमा कांग्रेसलाई लैजानुपर्छ’, उनले भने । आर्थिक क्रान्तिको नेतृत्व काँग्रेसले मात्र गर्नसक्ने उनको भनाई थियो ।

नेता सिंहले नेपाली महिलाको हक, अधिकारका लागि मङ्गलादेवीले आवाज उठाएको उल्लेख गर्दै पहिचान, स्वतन्त्रताका लागि लड्ने साहसी महिला स्व सिंह भएको उल्लेख गरे । पार्टीको १४ औं महाधिवेशनका लागि महिलालाई क्रियाशिल बनाउनु जरुरी रहेको सिंहको भनाइ थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता विश्वप्रकाश शर्माले मंगलादेवी सिंह साहसी र विद्रोही महिला भएको उल्लेख गरे । ‘मंगलादेवी सिंहले गरेको क्रान्तिका कारण पछिल्लो समय नेपाली महिला नेतृत्वमा पुग्न सकेका छन्’, उनले भने ।

उनले दक्षिण एशियामा पहिलो महिलामन्त्री, सभामुख, प्रधानन्यायधीश, राष्ट्रपति नेपाली महिला भएको बताउँदै नेपाली महिला अमेरिकी महिलाभन्दा पनि अगाडि भएको स्पष्ट पारे । प्रतिशत भन्दा प्रतिस्पर्धा गरेर महिला अगाडि बढ्नुपर्ने उनको भनाई थियो । सामाजिक रुपान्तरणका लागि महिला लाग्नुपर्ने प्रवक्ता शर्माले बताए ।

कांग्रेस केन्द्रीय सदस्य एवम् महिला विभाग प्रमुख ईश्वरी न्यौपानेले महिला आन्दोलनका कारण संविधानले महिलालाई अधिकार दिएको उल्लेख गरे । अर्का केन्द्रीय सदस्य सीता गुरुङले भने, ‘पार्टीको विधानले टोल, वडा, पालिका, प्रदेश र केन्द्रमा ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित गरेको छ, उक्त अधिकार कार्यान्वयनका लागि महिला संघले दवाव दिनुपर्छ’, उनले भने । संघका अध्यक्ष उमा रेग्मीले महिलालाई अधिकार सम्पन्न गराउने काम महिला संघको भएको बताउँदै पार्टी र सरकारसँग महिलाको हक अधिकारका लागि लड्नुपर्ने बेला आएको उल्लेख गरे । संघका महासचिव धना खतिवडाले पार्टीभित्र देखिएको गुट, उपगुटको पछाडि महिला नलाग्न आग्रह गरे ।

संघका केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल, काठमाडौं अध्यक्ष विष्णुदेवी पुडासैनी, झापा अध्यक्ष सुशीला ढकाल, कञ्चनपुर अध्यक्ष मधु भारतीलगायतले संविधानले ग्यारेन्टी गरेको महिलाको अधिकार प्राप्त गर्नका लागि पार्टी र सरकारलाई दवाव दिनुपर्ने बताएका थिए ।रासस

प्रतिक्रिया दिनुहोस्