सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना: छैन उमंग, कोरोना त्रासले गाउँ, सहर सुनसान

काठमाडौं, भदौ १० । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

देउवाले एक सन्देशमार्फत विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्नलायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको र त्यसमध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरेका छन् ।

विशेष गरी सुदूरपश्चिममा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको सभापति देउवाले बताएका छन्।

कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण देशका कैयौं भागमा लकडाउन र निषेधाज्ञा जारी रहेकाले यतिबेला जनजीवन कष्टकर बनेको उल्लेख गर्दे उनले कोरोना महामारीका कारण उत्पन्न यस्तो प्रतिकूल समयमा यसको जोखिमलाई दृष्टिगत गर्दै सुरक्षित रुपमै घर–परिवारमा सिमित रहेर गौरा पर्व मनाउन सबैलाई आग्रह गरे ।

यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै सभापति देउवाले शुभकामना व्यक्त गरेका छन् ।

यसैबीच अघिल्ला वर्ष यति बेला घरआँगन, मन्दिर र देवालयमा महिला–पुरुष देउडा खेल्दै गरेका हुन्थे । रोजगारीका लागि परदेसिएकाहरू घर फर्केपछि गाउँघरमा छुट्टै चलहपहल हुन्थ्यो । देउडा, चैत, धमारीलगायत सांस्कारिक गीत गुञ्जिन्थे । सुदूरपश्चिमेलीको मौलिक पर्व गौरामा विगतमा देखिने यो उमंग यस वर्ष भने देखिएन । कोरोना संक्रमणको त्रासले सहर बजार मात्र होइन, गाउँघर पनि प्रायः सुनसान छन् ।

धनगढीकी देवकी अवस्थी भन्छिन्, विगतमा जस्तो धेरैजना भेला भएर देउडा खेल्ने र रमाइलो गर्न नपाए पनि परिस्थितिअनुसार थोरैजना मिलेर गौरा भित्र्याउने, व्रत बस्ने, पूजाआजा गरेर परम्परादेखि मानिँदै आएको संस्कृतिलाई निरन्तरता दिइयो ।

मानिसहरू घरबाहिर निस्केर पर्व मनाउन डराएका छन् । कोरोनाका कारण सामूहिक रूपमा मनाउन नपाएपछि यस वर्ष सुदूरपश्चिममा गौराको उमंग नदेखिएको हो । मन्दिर, गौराघर, देवालयको गौरा घरघरमै सीमित भएको छ । संक्रमण बढ्न थालेपछि कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडीलगायत जिल्लामा निषेधाज्ञा छ । अन्य जिल्लामा पनि स्थानीय प्रशासनले भेला र जात्रामा प्रतिबन्ध लगाएका छन् । सुदूरपश्चिम प्रदेशमा यहाँको प्रसिद्ध पर्व गौरा पर्व शुरु भए पनि अन्य वर्षजस्तो कुनै चलहपहल देखिएको छैन

प्रतिक्रिया दिनुहोस्