बढ्यो कोरोना संकट : ४३ करोडको स्वास्थ्य सामग्री किन्दै सरकार

काठमाडौं , भदौ ९ । पछिल्लो समय हरेक दिन उपत्यकामा कारोना भाइरसका बिरामी बढ्दै जान थालेका छन् । बन्दाबन्दी खुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या अझै बढ्दो क्रममा रहेको छ ।

बन्दाबन्दी अघिसम्म काठमाडौंँ उपत्यकामा लगभग शून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दा बढीको सङ्ख्यामा बढेको छ । सोमबार मात्र उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २२४ पुगेको छ । एकै दिनमा उपत्यकामा बढेको यो उच्च सङ्ख्या हो ।

यसैबीच कोरोना संक्रमण हुने क्रम बढ्दै जाँदा सरकारले परीक्षणका लागि चाहिने अत्यावश्यक परीक्षण कीट तथा स्वास्थ्य सुरक्षा सामग्री खरिद प्रक्रियालाई तीव्रता पनि दिएको छ । सरकारसँग हाल करिब ३५ दिनलाई पुग्‍ने पिसिआर परीक्षण कीट छ। तर कोरोना समुदायस्तरमा पुगेर तीव्र गतिमा फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैपटक अत्यधिक मात्रामा कोरोना परीक्षणका लागि प्रयोगशालामा आवश्यक रिएजेन्टसहित अन्य सामाग्री खरिद गर्न लागेको हो। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्था शाखाले यसै हप्ता ४३ करोड बढीको स्वास्थ्य सामग्री खरिदका लागि टेन्डर आव्हान गरेको छ।

शाखाले यसै हप्ता तीन लाख थान आरटिपिसिआर किट, त्यही परिमाणमा भिटिएम, ५० हजार आरएनए एक्सट्याक्सन कीट लगायत सामग्री खरिदका लागि टेन्डर आव्हान गरेको हो । यस्तै ५ करोड रुपैयाँको पिपिई सेटसमेत खरिदका लागि टेन्डर आव्हान भइसकेको छ।

भेन्टिलेटर र आइसीयुका उपकरण पनि व्यवस्थापन महाशाखाका प्रमुख डा। रमेश खरेलले आपूर्ति व्यवस्था शाखाले यो साता टेन्डर प्रक्रिया अघि बढाएको बताए। उनले सम्झौता भएको बढीमा १० दिनसम्ममा सामान आइपुग्‍ने जानकारी दिए। उनले ३५ करोड रुपैयाँको आरटिपिसिआर, झण्डै ५ करोडको भिटिएम र त्यति नै रुपैयाँ बराबरको पिपिई सेट खरिदका लागि टेन्डर आव्हान भइसकेको बताए।

उनले अब यसै हप्ता भेन्टिलेटरसहितका सामाग्रीको पनि टेन्डर आव्हान हुने बताए । हाल देशका ४० बढी प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ। यी प्रयोगशालाको क्षमता दैनिक २० हजार बढी भए पनि अहिलेसम्म एक दिनमा १४ हजारसम्मको परीक्षण भएको छ। आपूर्ति व्यवस्था शाखाले भने गत असारदेखि नै दैनिक १५ हजार परीक्षण हुने अनुमानका साथ सामग्री व्यवस्थापन गरेको जनाएको छ। पछिल्लो समय काठमाडौं उपत्यका लगायत प्रमुख शहरहरुमा कोरोना समुदायस्तरमा फैलिएको छ।

साउन ७ मा लकडाउन खुलेयता लक्षणसहितका संक्रमितहरु भेटिएर आइसियु र भेन्टिलेटर भरिने क्रम बढ्दै गएको छ। यसैबचि उपत्यका नगरपालिका मेयर फोरमले पालिकाले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

काठमाडौँ उपत्यकाका १८ स्थानीय तहले यही भदौ १५ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्ने भएका छन् । पछिल्लो समय हरेक दिन उपत्यकामा कारोना भाइरसका बिरामी बढ्दै जाँदा खतरा बढेको जनाउँदै सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्