साउनमा आयात घट्यो, निर्यातमा सुधार, कोरोनाले ह्वातै बढ्यो विद्युतीय कारोबार

काठमाडौं, भदौ ९ । चालु आर्थिक वर्षको पहिलो महिनामा गत वर्षको तुलनामा आयात १९.६० प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकमा साउनमा ८५ अर्ब ८० करोड ८० लाख रूपैयाँ बराबरको आयात देखिएको छ । गत वर्ष साउनमा एक खर्ब ६ अर्ब ७२ करोड ५३ लाख रूपैयाँको वस्तु आयात भएको थियो ।

चालु आर्थिक वर्षका पहिलो महिनामा निर्यात ८.८६ प्रतिशतले बढेको छ । साउनमा नौ अर्ब ६२ करोड ४९ लाख रूपैयाँ बराबरको वस्तु निर्यात भएको तथ्यांक छ । गत साउनको निर्यात आठ अर्ब ८३ करोड ७० लाख ८६ हजार रूपैयाँ बराबर थियो ।

साउनमा सबैभन्दा बढी टेलिफोन नेटवर्कको सामान आयात भएको छ । यसको मूल्य चार अर्ब २६ करोड ५० लाख रूपैयाँ रहेको भन्सारले जनाएको छ । त्यस्तै, दुई अर्ब ५६ करोड २१ लाख रूपैयाँको कच्चा सोयाबिन तेल आयात भएको छ । दुई अर्ब ४५ करोड ५४ लाख रूपैयाँको डिजेल आयात भएको छ ।

गत महिना पेट्रोल एक अर्ब ७७ करोड ३३ लाख रूपैयाँको मात्र आयात भएको छ । डिजेल र पेट्रोल गत वर्षको तुलनामा धेरै कम आयात भएको देखिन्छ । गत वर्ष यो अवधिमा सात अर्ब ५८ करोड रूपैयाँको डिजल र दुई अर्ब ८८ करोड रूपैयाँको पेट्रोल आयात भएको तथ्यांक छ । गत वर्ष यो अवधिमा चार अर्ब ३२ करोड रूपैयाँको फलामका कच्चा पदार्थ आयात भएकोमा यो वर्ष दुई अर्ब ३० करोड ३८ लाख रूपैयाँ बराबरको मात्र आयात भएको छ । त्यस्तै दुई अर्ब २१ करोड ६१ लख रूपैयाँको चामल र एक अर्ब ९७ करोड १३ लाख रूपैयाँको एलपी ग्यास आयात भएको विभागले जनाएको छ । यो अवधिमा चिनी, मकै, गहुँ, सूर्यमुखी तेल, औषधी, कोइला लगायत सामग्री अर्बमा आयात भएका छन् ।

गत वर्ष साउनमा धेरै निकासी भएको पाम आयल पैठारीमा भारतले प्रतिबन्ध लगाएका कारण गत महिना सबैभन्दा बढी सोयाबिन तेल निर्यात भएको छ । सोयाबिन तेल दुई अर्ब २७ करोड पाँच लाख बराबरको निर्यात भएको छ । गत वर्ष यो अवधिमा ४५ करोड रूपैयाँको मात्र सोयाबिन तेल निर्यात भएको थियो । यो अवधिमा ७५ करोड ७३ लाखको चिया निकासी भएको छ । लामो समय भारतले निकासीमा अवरोध गरेसँगै रेकिएको चिया एकैपटक निकासी हुँदा साउनमा निकासी उच्च देखिएको हो । गत महिना ६८ करोड ३० लाख रूपैयाँको गलैंचा, ४७ करोड ६३ रूपैयाँको अलैंची निर्यात भएको छ । गलैंचा र अलैंची पनि पोहोर साउनको भन्दा बढी हो ।

साउनमा बेलायत, आयरल्यान्ड, टर्की, स्विजरल्यान्ड, फिनल्यान्ड, रुस, पाकिस्तान, हंगेरी, आइसल्यान्ड लगायत २३ मुलुकसँगको व्यापार नाफामा छ । कारोबार भएका ९१ मुलुकमध्ये बाँकीमा व्यापार घाटा छ । आयात र निर्यात दुवै भारतसँग बढी छ । तर भारतसँगको व्यापार पोहोर साउनको तुलनमा यसपालि घटेको छ । गत वर्ष ६७ अर्ब ८१ करोड रूपैयाँको आयात भएकोमा यस वर्ष ५६ अर्ब ३९ करोडको मात्रै आयात देखिन्छ ।

निर्यात गत वर्ष ६ अर्ब पाँच करोड ३० लाख रूपैयाँ रहेकोमा यो साउनमा बढेर ६ अर्ब ३१ करोड ७९ लाख पुगेको छ । भारतपछि चीनसँग व्यापार बढी भए पनि पोहोरको तुलनामा आयात–निर्यात दुवै कम छ । यो वर्ष साउनमा चीनबाट ११ अर्ब १७ करोड ९० लाखको आयात भएको छ भने निर्यात पाँच करोड ६० लाख रूपैयाँको छ । गत वर्ष साउनमा १८ अर्ब ५३ करोडको आयात र १९ करोड ८२ लाख रूपैयाँ बराबरको निकासी थियो । यता चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउनमा वैदेशिक व्यापारको सूचक सकारात्मक पाइएको छ । भन्सार विभागका अनुसार साउनमा आयातमा उच्च गिरावट र निर्यातमा सुधार भएको छ ।

साउनमा ८५ अर्ब ८० करोड ७९ लाख रुपैयाँको वस्तु आयात र ९ अर्ब ६२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्ष २०७६र७७ को पहिलो महिनामा आयात १ खर्ब भन्दा बढीको थियो भने निर्यात ८ अर्ब ८३ करोड रुपैयाँको भएको थियो ।

आयातमा आएको कमी र निर्यातमा सामान्य वृद्धिले एक महिनाको व्यापार घाटामा समेत सामान्य सुधार देखिएको छ । यद्यपि अर्थतन्त्रमा यस्तो सुधार भने गत आर्थिक वर्षदेखि नै देखिएको थियो ।

कोरोनाले ह्वातै बढ्यो विद्युतीय कारोबार

कोरोना महामारीका कारण बैंकसम्म पुगेर कारोबार गर्नेहरु अहिले विद्युतीय कारोबारतर्फ आकर्षित भएका छन् । नेपाल राष्ट्र बैंकले विद्युतीय उपकरणको बढ्दो प्रयोगले केही महिना यता विद्युतीय भुक्तानीको कारोबार बढेको जनाएको छ ।

यसमा पनि एटिएमको कारोबार ह्वात्तै बढेको छ । असारमा एटीएमबाट ५४ अर्ब ७६ करोड रुपैयाँ कारोबार भएको छ । जेठमा ४० अर्ब २७ करोड कारोबार र वैशाखमा २७ अर्ब ८४ करोडरुपैयाँ एटीएमबाट कारोबार भएको थियो ।

पछिल्ला दिनमा केन्द्रिय बैंकले क्यासलेस कारोबारलाई बढावा दिँदै आएको छ । यद्यपि कोरोनाबाट बच्न भौतिक दुरी कायम गर्नुपर्ने भएकाले बैंकमै गएर भन्दा पनि विभिन्न विद्युतीय उपकरण प्रयोग गरेर कारोबार गर्नेहरु बढेका छन् ।

मोवाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, आरटिजिएस, इसिसि, आइपिएस, कनेक्ट आइपिएस लगायतबाट कारोबार भएको छ । मोबाइल बैकिङबाट असारमा १८ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको छ भने इन्टरनेट बैकिङबाट १९ अर्बको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्