काठमाडौंमा समुदायस्तरमा कोरोना फैलिए नियन्त्रण गर्न कठिन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, भदौ ७ ।  काठमाडौं उपत्यकामा हालसम्म ३ हजार ९६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। काठमाडौमा २ हजार ४ सय ५३, ललितपुरमा ३ सय ९९ र भक्तपुरमा २ सय ४४ संक्रमित रहेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आइतवार मात्रै काठमाडौं उपत्यकामा १ सय ६६ जना संक्रमित थपिएका हुन्। काठमाडौंमा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमित भेटिने क्रम बढिरहेको छ। केही महिना अघिसम्म भारतसँग सीमा जोडिएको जिल्लामा संक्रमण उच्च भएपनि लकडाउन हटेपछि काठमाडौंमा संक्रमणको ग्राफ लगातार उकालो लागेको छ। संक्रमण बढन थालेपछि सरकारले ३ गते देखि लागु हुनेगरी भदौ १० गते सम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएको छ।

निषेधाज्ञा लगाएको भए पनि संक्रमित भेटिने क्रममा भने कमी आएको छैन। यसैबीच करिब ५० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिए नियन्त्रण गर्न कठिन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा आइतबार प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौंमा केही दिनयता संक्रमण बढ्दै गएको उल्लेख गर्दै धेरै जनसंख्या भएकाले समुदायस्तरमा फैलिए नियन्त्रण गर्न कठिन हुने बताए ।

‘काठमाडौंमा बढिरहेको संक्रमितको संख्याले हामीलाई चिन्तित बनाएको छ,’ उनले भने, ‘उपत्यकाको जनसंख्या झन्डै ५० लाख छ । यहाँ संक्रमण समुदायस्तरमा पुग्यो भने कन्ट्रोल गर्न धेरै कठिन हुनेवाला छ ।’

जनस्वास्थ्यको मापदण्ड अपनाउन मन्त्रालयले गर्दै आएको अनुरोध पालना नभएकाले पनि काठमाडौंमा संक्रमण बढेको बताए । राजनीतिक दल, संघसंस्थालाई भेला, जुलुस नगर्न सचेत गराए पनि त्यो राम्रोसँग पालना नभएको उल्लेख गर्दै उनले भने, ‘जनस्वास्थ्यको मापदण्ड पालना नगरेको कारणबाट काठमाडौंमा संक्रमणको दर बढेको छ ।’

उनले अत्यावश्यक नभई घरबाट ननिस्कने, दूरी कायम नगरेको, मास्कको प्रयोग, हात धुने नियम सबैलाई पालना गर्न आग्रह गरे । ‘आफू सुरक्षित बसेर अरूलाई पनि सुरक्षित रहन सहयोग गरौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्