निषेधाज्ञाले रोकेन सेयर बजारको उत्साह, दोहोरो अंकले बढ्यो, अर्बमाथिको कारोबार

काठमाडौं, भदौ ७ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय निकायले निषेधाज्ञा गर्दा समग्र क्षेत्र अस्तव्यस्त हुँदा समेत शेयर बजार चम्किएको छ ।

निषेधाज्ञाको बीचमा अनलाइनमार्फत भएको कारोबारमा आइतबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । खरिदबिक्री रकम पनि औसतमा उत्साहप्रद रहेकाले सेयर बजारले क्रमशः लय समाउन थालेको देखिन्छ ।

नेप्से सूचक आइतबार १२।७७ अंकले बढेर १४१०।३४ विन्दुमा आइपुगेको छ । १८४ कम्पनीको १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको आइतबार २४ लाख ९८ हजार ६६२ कित्ता सेयर खरिदबिक्री भएको छ । कुल १२ समूहको कारोबार भएकामा ३ समूह घटेका छन् भने बाँकी सबै माथि लागेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक २३३।२२ अंकले बढेको छ भने वाणिज्य बैंक समूहको परिसूचक ४।८ अंकले बढेको छ ।

यस दिन समृद्धि फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ९।७७५ ले बढेको छ । नेको इन्स्योरेन्स र तारागाउँ रिजेन्सी होटेलमा धेरै कमाउनेमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । यता, सबैभन्दा धेरै गुमाउनेमा पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यसको मूल्य ३।७०५ ले तल झरेको हो । खदिरबिक्री रकममा नेको इन्स्योरेन्स अग्रस्थानमा आइपुगेको छ । यसको १३ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । खरिदबिक्रीमै दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल पुनर्बिमा कम्पनी रहेका छन् ।

सुरुवाती समय गिरावट देखिएको बजार पछिल्लो दुई घण्टामा सुधार हुँदा लगानीकर्ताको सहभागिता बढेको थियो । व्यापार हाइड्रोपावर र म्युचुअल फण्डको सूचक ओरालो झरे पनि बाँकी सूचकमा सुधार आएको छ । बिमा कम्पनीको सूचकमा उल्लेख्य सुधार आउँदा समग्र बजारलाई नै टेवा दिएको छ । बिमा कम्पनीको कारोबारले समग्र कारोबार रकमलाई नै सुधार पुर्याएको हो ।

प्रतिक्रिया दिनुहोस्