सभापति देउवाको अपिल- स्वास्थ्यकर्मीलाई निरुत्साहित पार्ने गतिविधि नगरौं

काठमाडौं, भदौ ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयम, एकता र दृढताका साथ कोरोना भाइरसको सामना गर्न अपिल गरेका छन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गरेर सरकार, स्वास्थ्यकर्मीसँगै सम्पूर्ण नेपालीलाई संयम, एकता र दृढताका साथ कोरोना भाइरसको सामना गर्न अपिल गरेका हुन् ।

“देशका कैयौं भागमा लकडाउन र निषेधाज्ञा जारी रहेका कारण यतिबेला जनजीवन कष्टकर बनेको छ । कोरोना महामारीका कारण उत्पन्‍न यस्तो प्रतिकूल समयमा म समस्त दिदिबहिनी दाजुभाइलाई संयम र एकता साथ आजको परिस्थिति सामना गर्न हार्दिक अपिल गर्दछु,” उनले भनेका छन् ।

सभापति देउवाले कोरोना महामारीमा ‘फ्रन्ट लाइन’ मा कार्य गरिरहेकाहरुको उच्च सह्राना गर्दै उनीहरुका लागि अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरणमा खलल् हुन नदिन विशेष ध्यान पुर्‍याउन सरकारलाई आग्रह गरेका छन् ।

उनले केही स्थानमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्दा दुःख लागेको भन्दै स्वास्थ्यकर्मीहरु र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन तीनवटै तहका सरकारहरुलाई सजग गराएका छन् ।

“आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिरहेको छ । आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो । यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न म समस्त दिदिबहिनी दाजुभाइलाई आग्रह गर्दछु,” सभापति देउवाले भनेका छन् ।

सभापति देउवाले लकडाउन र निषेधाज्ञाको समयलाई सदुपयोग गरेर सबल ढंगले कार्य गर्न सरकारलाई अपील पनि गरेका छन् । उनले पीसीआर परिक्षण ७७ जिल्लामै गर्ने गरी अविलम्ब क्षमता विस्तार गरेर समुदाय स्तरमा परीक्षण व्यापक रुपले पुर्‍याउन माग गरेका छन् ।

“कोभिड अस्पतालहरु निश्चित र व्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड व्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न माग गर्दछु,” सभापति देउवाले भनेका छन्, “खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न सरकारलाई आग्रह गर्दछु ।”देउवाले लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन्।

विदेशस्थित सबै संघसंस्था र नेपाली दूतावासहरूलाई प्रतिकूलताका घडीमा नेपालीहरूको हितमा एकताबद्ध भइ काम गर्न पनि उनको आग्रह छ।

यता विभन्न ठाउँमा भाडा लिएर बसेका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने गरिएको पनि पाएको छ ।स्वास्थ्यकर्मीबाट कोरोना सर्न सक्ने भन्दै विभिन्न ठाउँमा दुर्व्यवहारको घटना हुँदै आएको छ । सरकारले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न आग्रह गर्दै आएको छ भने यदि कसैले दुर्व्यवहार गरेको पाइए कानुन अनुसार कारबाही हुने स्पष्ट पारेको छ ।

तर यता राजधानीको बानेश्वरस्थित मिलनचोकका स्थानीयले डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेका छन् ।शनिवार बिहान उनीहरुले होस्टेल सञ्चालकलाई गाली गलौजसहित स्वास्थ्यकर्मीलाई नराख्न धम्क्याएका हुन् ।

सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी राखेका लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टलका सञ्चालक रोहित रानालाई उनीहरुले धक्याउँदै पचास साठी जनाको टोलीले घर घेराउ गरेको रानाले जानकारी दिए ।

बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएका स्थानीयले कोरोनाको महामारीको समयमा अनुमति बिना किन स्वास्थ्यकर्मीलाई होस्टलमा राखेको भनेर उनीहरुले धम्की दिएको रानाको भनाइ छ ।

बानेश्वरमा २ वटा होस्टेल सञ्चालन गरेका रानाले खाली भएको एउटा होस्टलमा भदौ ४ गतेदेखि केही स्वास्थ्यकर्मीलाई राखेका थिए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा राख्नका लागि अस्पतालले उनीसँग आन्तरिक सहमति गरेको थियो ।

सोही अनुसार ४ गतेदेखि ४ जना स्वास्थ्यकर्मी होस्टलमा बस्न थालेका थिए । उनले होस्टलमा बस्न दिएका स्वास्थ्यकर्मीहरु स्वस्थ रहेको र कार्यालयको काम सकेपछि आएर बस्ने उनले सुनाए । रानाले बिहानको घटनापछि आफू निकै नै मानसिक तनावमा रहेको बताएका छन् ।उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई भगवान सम्झेर ढोग्नुको साटो उल्टै अपमान गर्दा कस्तो मनोबल होला त रु यो तपाइ हामीले बुझन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्