स्वास्थ्यकर्मी माथी दुर्व्यवहार गर्नेलाई तत्कालै कारबाही होस् : साझा पार्टी

काठमाण्डौ , भदौ ७ । राजधानी काठमाडौँसहित देशका विभिन्न भागमा पछिल्ला दिनमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूमाथि दुर्व्यवहार भएका घटनाप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।साझा पार्टीले स्वास्थ्यकर्मी तथा डाक्टरहरुमाथि दुर्व्यवहार गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।

‘अर्को व्यक्तिमाथि कुनै पनि खालको भेदभाव वा दुव्र्यवहार यसै पनि कानूनीरूपमा दण्डनीय कसुर हो । त्यसमाथि हाल यत्रो ठूलो जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभाव छ ।’ साझाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘ त्यसका बावजुद आवश्यक विश्रामसमेत नलिई विरामीहरूको सेवामा अहोरात्र खटिईरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार हो ।’

विपद्को यो घडीमा उच्चतम मानवीय संवेदना प्रदर्शन गर्दै समाजको हरेक अर्को सदस्यको कठिनाईमा सक्दो सहयोग गर्नु र चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्नु हरेक नागरिकको कर्तव्य हो भन्दै साझापार्टीले सबै नागरिकले त्यसो गरेमामात्र कोभिड १९ विरुद्धको हाम्रो साझा लडाईँ केही सहज हुने उल्लेख गरेको छ ।

स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुर्व्यवहार र भेदभावजन्य कृयाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारवाही सुनिश्चित गर्न साझा पार्टीले सरकारसँग माग गरेको छ ।

‘देशभरका स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानित महसुस गर्ने अवस्था बनाईराख्न आवश्यक भूमिका खेल्न साझा पार्टी आफ्ना सदस्य, शुभेच्छुक तथा आम सर्वसाधारणलाई अपील गर्दछ ।’ विज्ञप्तीमा उल्लेख छ ।

पर्याप्त स्रोत साधनबिना पनि जनस्वास्थ्य संकटको समयमा विश्रामसमेत नलिई बिरामीहरूको सेवामा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार भएको साझाले जनाएको छ ।

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र भेदभावजन्य क्रियाकलाप गर्ने व्यक्ति या समूहलाई तत्कालै कारबाही गर्न साझाले माग गरेको छ । विपद्को समयमा उच्चतम मानविय संवेदना प्रदर्शन गर्दै अरुको कठिनाइमा सक्दो सहयोग गर्नु र चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्नु हरेक नागरिकको कर्तव्य भएको पनि साझाले स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्