नेकपा विवाद: सकियो नेकपा कार्यदलको बैठक, प्रतिवेदन आजै बुझाउने तयारी

काठमाडौं , भदौ ६ । नेपाल कम्युनिस्ट पार्टी नेकपा को विवाद समाधान गर्न गठित कार्यदलले आजै दुई अध्यक्षलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको बैठक सकिएको छ ।

विवाद समाधान गर्न गठित कार्यदलको बैठक बालुवाटारमा बसेको थियो ।झण्डै ८ घण्टा बसेको बैठकपछि कार्यदलले आजै दुई अध्यक्षलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्र उठेका विभिन्न विषय वस्तुलाई मसिनो गरी छलफल गर्दै दस्तावेजीकरण गरेको हो । बैठक सकेर कार्यदल सदस्यहरु पौने तीन बजे खाना खान बालुवाटारबाट निस्केका छन् ।
कार्यदलले गत शनिबारबाट काम सुरु गरेको हो ।

गत शुक्रबार दुई अध्यक्ष केपी शमा ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । उक्त कार्यदललाई सोमबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो । कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा नगराउनेगरी सहमतिको प्रस्ताव तयार गरिएको बुझिएको छ ।

त्यस्तै कार्यदलको प्रतिवेदनमा दुवै अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद सदस्यहरुको हेरफेर, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिस लगायत विषयमा पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको श्रोतको दावी छ ।

त्यस्तै प्रतिवेदमा एकता महाधिवेशन आगामी चैत महिनामै गर्नु उपयुक्त हुने सुझाव समेटिएको बुझिएको छ । कार्यदलले बुझाएको प्रतिवेदन सचिवालयमा छलफल गरेर स्थायी कमिटीले अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने नेकपाका नेताहरुको तयारी छ ।

गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक पार्टीभित्रको विवादका कारण साउन १८ पछि बस्न सकेको छैन ।नेकपामा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुले ओलीको राजीनामा मागेपछि विवाद चर्किएको थियो ।

सोही विवादका कारण पार्टी नै विघटनको अवस्थामा पुगेपछि दुई अध्यक्षबीच कार्यदल गठन गरेर त्यसको सुझावका आधारमहमता पार्टी र सरकार सञ्चालन गर्न सहमत बनेका थिए । कार्यदलको बैठक बिहीबारयता बस्न सकेको थिएन ।

शुक्रबार नै टुङ्गिन बाँकी विषयमा सहमति जुटाएर प्रतिवेदनको रूप दिने तयारी गरिएको भए पनि कार्यदलका सदस्य भीम रावल बाढीग्रस्त क्षेत्र अवलोकन गर्न गृहजिल्ला जानुपरेकाले बैठक बस्न सकेका थिएन ।

प्रतिक्रिया दिनुहोस्