कांग्रेसको प्रश्न – खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ? (विज्ञप्तिसहित)
काठमाडौं, भदौ ६ । विदेशमा अलपत्र नेपालीलाई सरकारी खर्चमै उद्धार गर्न कांग्रेसले सरकारको ध्यनाकर्षण गराएको छ । यो सँगै कांग्रेसले सर्वोच्च अदालतको आदेशविपरीत सरकारले महंगो चार्टर फ्लाईटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकलाई बोकाएर उनीहरुको पीडामाथि पीडा थप्ने काम गरेको आरोप पनि लगाएको छ।
गत असार १ गते सर्वोच्च अदालतले समेत वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ आदेश जारी गरेको भन्दै सरकारी खर्चमै उद्धार गर्न माग गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेशको दुई महिनापछि पनि महँगो चार्टर फ्लाईटको टिकट व्यवस्था गरेर श्रमिकको पीडामाथि पीडा थपेको कांग्रेसले बताएको छ ।
वैदेशिक रोजगारीमा गएका र अप्ठ्यारोमा परेकालाई नेपालीलाई स्नेह र सहाराको हात दिनु राज्यको दायित्व भएको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘६ महिनादेखि बेरोजगार भएर बसेका खाडिका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नू कति न्यायोचित छ रु सरकारको यो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्वार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी हो कि होइन प्रधानमन्त्रीज्यू ? ’
मन्त्रिपरिषद्को पछिल्लो बैठकले एक दिनमा ३ वटा मात्रै उद्वार फ्लाईटको अनुमति दिएको र भदौ १६ बाट शुरु गर्ने भनिएको उडानमार्फत पनि समस्यामा परेका नेपालीहरु नेपाल आउन महिनौं लाग्ने भन्दै कांग्रेसले पीडामा रहेका नेपालीको पीडा सरकारले नबुझेको आरोप लगाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उद्धारको यो कछुवा गति भित्र विदेशका अन्य देशमा पनि पीडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय विल्कुलै देखिएन ।’
चार्टर फ्लाईटको महंगो टिकट काट्नु पर्ने, होटेल क्वारेन्टाइनमा सात दिनको खर्च ब्यहोर्नुपर्ने, पीसीआर परीक्षण आफैं गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्च समेत आफै हाल्नुपर्ने सरकारी व्यवस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सरकारले ‘वर्ग शत्रु’को ब्यवहार गरेको आरोप समेत लगाएको छ ।
कांग्रेसले विदेशमा रोजगारीमा रहेका नेपालीलाई ‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ आत्मसात गर्न समेत अपिल गरेको छ ।कांग्रेस रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका श्रमिकलाई कल्याण कोषको रकम मार्फत हवाई टिकट ब्यवस्था गरेर निःशुल्क उद्वार गर्न नेपाली कांग्रेस सरकार समक्ष पुनः आग्रह गरेको छ।
त्यस्तै कांग्रेसले सरकारी खर्चमै क्वारेन्टिन, पीसीआर परीक्षण र गाउँसम्म पुग्ने प्रबन्ध मिलाउन पनि सरकारलाई आग्रह गरेको छ। यता कांग्रेसले मन्त्रिपरिषद्को पछिल्लो बैठकले दिनमा केवल ३ वटा उद्वार फ्लाईटको अनुमति दिएको पनि यसले अलपत्र श्रमिक नेपाल आइपुग्न महिनौँ लाग्ने बताएको छ। सरकारको कछुवा गतिको उद्धारले विदेशमा रहेका नेपालीको पीडा बुझ्ने हृदय विल्कुलै नदेखिएको कांग्रेसको भनाइ छ।
सरकारको पछिल्लो निर्णयले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्वार त गर्न लाग्दैछ तर मानवीय भावना कम उद्वारमा ब्यापारको मस्तिष्क धेरै खपत भएको देखिएको कांग्रेसको आरोप छ।

















प्रतिक्रिया दिनुहोस्