कर्मचारी बाटोमै रोकिएपछि बैंकको सेवा प्रभावित
काठमाडौं, भदौ ४ । कर्मचारी बाटोमै रोकिएपछि बैंकको सेवा प्रभावित भएको छ । गए रातिबाट जारी भएको निषेधाज्ञाका कारण बैंकहरुको सेवा प्रवाहमा समेत समस्या देखिएको हो । प्रहरीले अनावश्यक घर बाहिर निस्किने सर्वसाधारणसँगै बैंकका कर्मचारीहरुलाई समेत बाटोमै रोकेपछि सेवा प्रभावित हुन पुगेको हो ।
सरकारले बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालयमा न्यूनतम कर्मचारी राखेर सेवा सञ्चालन गर्न प्रशासनले भनेपछि बैंकका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि सेवा प्रभावित भएको हो। सरकारले न्यूनतम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखा खोल्न अनुमति दिए पनि बैंक जान हिँडेका बैंकका कार्मचारीलाई बाटोमा रोकेको बैंकर्स संघले जनाएको छ। मुख्य कार्यालयमा बढीमा १० प्रतिशत कर्मचारीले सेवा दिने र सिमित ठाउँमा मात्रै शाखाहरु खोल्ने सहमति भएपनि प्रहरीले बाटोमै कर्मचारी रोकेपछि सेवा नै दिन सक्ने अवस्था नभएको संघले जनाएको छ।
कर्मचारीहरु बाटोमा रोकिएपछि बैंकहरुको सेवा प्रवाहमा समस्या देखिएको छ। बैंकहरुले मुख्य गेट नै बन्द गरेका छन। जसका कारण ग्राहकहरु गेट बाहिर उभिएका छन। सिमित मात्रामा मात्रै बैंकका शाखाहरु खुला हुने सूचना पाएका ग्राहकहरु टाढा टाढाबाट आएर बैंकका गेट बाहिर उभिएर बसेका हुन। बौद्ध जोरपाटीबाट प्रभु बैंकको मुख्य कार्यालयमा सेवा लिन आएका बलराम श्रेष्ठले महामारीको बेला टाढाबाट आउँदा पनि सेवा नपाउँदा दुःख भएको बताए। काठमाडौंमा ५ वटा शाखामात्रै खुला हुने जानकारी साथीमार्फत पाएको उल्लेख गर्दै उनले सबैभन्दा नजिक पर्ने मुख्य कार्यालय भएकाले आएको बताए। बैंकले कर्मचारीहरुलई बाटोमै रोकेका कारण कार्यालयहरु बन्द भएको जानकारी आफुलाई दियएको उनले बताए।पहिलो दिन प्रहरीले रोके पनि गुनासो बढेपछि बैंकका कर्मचारीलाई नरोक्ने आदेश आएको जनाइएको छ।
प्रशासनसँग काठमाडौं जिल्लामा ५, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्नदिने सहमति भएपनि त्यसो नभएको संघको भनाई छ। यता प्रहरीले अनावश्यक रुपमा बाहिर निस्किनेलाई होल्डिङ सेन्टरमा राखेको छ।प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यका छिर्ने नाका र चोकचोकमा चेक जाँच कडाई पारिएको छ । पास र अत्यावश्यकबाहेक जिल्ला भित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन नभएको कार्यालयले जनाएको छ। अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौं उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ।
अत्यावश्यक कामका लागि घर बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्युनतम भौतिक दूरी कायम गर्न प्रशासनले आग्रह गरेको छ। प्रहरीले बिहान खुलेका केहि पसललाई पनि बन्द गराएको छ।















प्रतिक्रिया दिनुहोस्