दुई महिनापछि निर्वाचन आयोगमा दर्ता भयो नेकपा एमाले

काठमाडौं, भदौ ३ । दुई महिनापछि निर्वाचन आयोगले नेकपा एमाले नयाँ पार्टी दर्ता गरेको छ।अन्ततः निर्वाचन आयोगले नेकपा (एमाले) दर्ता गर्ने निर्णय गरेको छ । निवेदन परेसँगै विवादमा आएको सो पार्टीलाई आयोगले वैधता दिने निर्णय गरेको हो । सो दलले गत असारमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएपछि पछिल्लो समय नेकपामा विवाद उत्पन्न भएको थियो ।

नेकपका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै यो पार्टी दर्ताको प्रकृया अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको इशारामा भएको दावी गरेका थिए । त्यसले गर्दा पार्टीमा विवाद नै उत्पन्न भयो र स्थायी कमिटीको बैठक नै प्रभावित भएको थियो ।

सो पार्टीका तर्फबाट निर्वाचन आयोगमा बुझाइएको कागजपत्रका आधारमा हस्ताक्षरहरु प्रमाणित भएपछि आज आयोगले दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी बताए । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय छन्। निवेदन परेको करिब दुई महिनापछि आयोगले नेकपा एमाले दल दर्ता गरेको हो।पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ।गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो।

नेकपा एमाले नेपालको एक सय ३२ औं पार्टी बनेको छ। यता नेकपाले पार्टीको आन्तरिक विवाद समाधानका लागि विष्णु पौडेलको अध्यक्षतामा एक कार्यदल गठन गरेको छ । सो कार्यदलले छलफल गरिरहेको बेला आयोगले एमाले पार्टी दर्ता गर्ने निर्णय गरेको छ । पार्टी दर्ता भएपसँगै नेकपामा पुनः शंका उपशंका शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्