अछाममा बाढीपहिरोः पीडितलाई उद्धार र राहत प्रदान गर्न नेता रावलको माग

काठमाडौं, भदौ ३ । नेकपा स्थायी कमिटी सदस्य भीम रावलले अछाममा पहिरो र बाढीका कारण भएको जनधनको क्षतिको यथार्थ विवरण संकलन गरी पीडित परिवारलाई राहत प्रदान गर्न माग गरेका छन्।

अछाम क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका रावलले बुधबार विज्ञप्ति जारी गर्दै विस्थापितहरुलाई बसोबासको व्यवस्था गर्न तथा क्षतिग्रस्त सडक एवम् भौतिक संरचनाको पुनर्निर्माणका लागि अध्ययन र योजना आरम्भ गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले प्रदेश सरकार र स्थानीय तहलाई पनि राहत र उद्धारमा खटिन आग्रह गरेका छन्।रावलले मृतकहरुप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

‘प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र केन्द्रीय विपद् व्यवस्थापनसम्बन्धी कार्यालयका प्रमुख, अछाम जिल्ला प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरिएको छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

किनिमिनी तालबाट निस्केको खोलामा आएको बाढी तथा किमिडिकाँध औलाघाटमा गएको पहिरोका कारण कैलाश खोलामा बाढीले रामारोशन गाउँपालिका–५ मा १८ जना बेपत्ता भएका थिए। तीमध्ये ७ जनाको शव भेटिएको छ भने ११ जनाको खोजी कार्य जारी छ।

प्रतिक्रिया दिनुहोस्