ओली–प्रचण्ड सहमतिप्रति आशंका, मन्त्रिमण्डल पुनर्गठनको तयारीमा प्रधानमन्त्री

काठमाडौं , साउन ३२ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद सुल्झ्याउन ६ नेता सम्मिलित कार्यदल गठन भएलगत्तै मन्त्रिमण्डल पुनर्गठनको भित्री तयारी भएको छ । पार्टीभित्र देखा परेको विवाद समाधान गर्न अध्यक्षद्वय केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुषाल र सुरेन्द्र पाण्डे सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएलगत्तै सोही प्रतिवेदनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने बालुवाटारको तयारीपछि सो पार्टीका नेता कार्यकर्तामाझ मन्त्रिमण्डल पुनगर्ठनको चर्चा चल्न थालेको हो । खासगरी पार्टीमा देखिएका आन्तरिक समस्या सम्बोधन गर्ने तथा पार्टी एकता अक्षुण राख्नेगरी प्रस्ताव तयार गर्न कार्यदललाई भनिएको छ ।

नेकपामा पहिलेदेखि नै एक व्यक्ति एक जिम्मेवारीको विषय उठाउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालको माग सम्बोधन गर्न पनि दोहोरो जिम्मेवारी नरहनेगरी प्रस्ताव आउनसक्ने सो पार्टीका नेता कार्यकर्ताको भनाइ छ । त्यसोे त शक्ति सन्तुलन कायम गर्न केन्द्रीय सरकारका केही मन्त्रीहरु हेरफेर तथा मुख्यमन्त्रीहरुको समेत जिम्मेवारी हेरफेर गरेर जानुपर्ने आवाज नेकपाको सचिवालयमा धेरै पहिलेदेखि नै उठ्दै आएकाले त्यसको सन्तुलन मिलाउन समेत मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने धेरैको आँकलन छ ।

समग्र पार्टी पद्धति तथा सरकारका काम प्रभावकारी बनाउन पनि कार्यदलले यसबारे विकल्प पेस गर्ने निश्चित भएको नेकपाका एक स्थायी समिति सदस्यले दावी गरे ।
उनले भने, ‘सवै पुरानै मन्त्री र पुरानै मुख्य मन्त्रीहरुलाई निरन्तरता दिने हो भने पार्टीभित्रको विवाद मिल्ने सम्भावना देखिँदैन । त्यसकारण फेरबदल निश्चित छ ।’

उनका अनुसार यसअघि दुई अध्यक्षबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र प्रधामन्त्री दुवै पदबाट राजीनामा दिनु नपर्ने तथा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि मान्य हुनेगरी सहमतिको खाका बनाउने विषयमा दुई अध्यक्षबीच सहमति भैसकेकाले पनि मन्त्रीहरुको हेरफेर निश्चित छ ।

स्रोतका अनुसार दुई अध्यक्षबीच शक्तिको बाँडफाँड गर्ने क्रममा ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी चलाउने गरी पहिलो खाका बन्नेछ । त्यसपछि महाधिवेशन र मन्त्रिमण्डल पुर्नगठन तथा केही मुख्यमन्त्रीहरु फेरवदल गर्नेगरी कार्यदलले खाका तयार गर्नेछ ।

स्रोेतका अनुसार २ वर्ष मन्त्री भैसकेका र राम्रो परफमेन्स देखाउन नसकेका झण्डै सातदेखि १० जना मन्त्री परिवर्तन हुने सम्भावना छ । तिनका स्थानमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेल लगायतलाई मौका दिने गरी ओली प्रचण्डबीच लगभग सहमति भएको बुझिएको छ ।

नेकपा नेताहरुका अनुसार हालका मन्त्री प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल भने फेरवदलका क्रममा पनि रहिरहने सूचीमा पर्नेछन् । त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र ५ का शंकर पोखरेलको ठाउँमा नयाँ मुख्यमन्त्रीको खोजी हुन थालेको छ । त्यस्तै नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री सहित कुनै एक महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको छ ।

तर श्रेष्ठ सरकारमा गए यसअघि उनको कोटाबाट मन्त्री बनेका गिरीराजमणि पोखरेल सरकारबाट बाहिरिनुपर्नेछ । प्याकेजमै सहमति गर्दा बामदेव गौतमको व्यवस्थापनका विषयमा समेत कार्यदलले केही प्रस्ताव तयार गर्ने बुझिएको छ ।

भदौ १९ पछि अर्थमन्त्री युवराज खतिवडा मन्त्री बन्ने सम्भावना कम रहेको बताइन्छ । शक्ति सन्तुलन मिलाउन उनको ठाउँमा वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने विकल्प कार्यदलले पेश गर्न सक्नेछ । यता नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद समाधान गरेर बढ्ने सहमति भएपनि नयाँ विवाद सृजना भएको छ । पार्टीमा दुई अध्यक्ष बसेर विवाद समाधानको खाका तयार गर्न कार्यदल बनाएको प्रक्रियामा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् । उनीहरुले पार्टी पद्धतिलाई बेवास्ता गरेर दुई अध्यक्षले निर्णय गरेर जाने परिस्थित सृजना गर्न खोजेकोमा आपत्ती जनाइसकेका छन् ।

नेपाल र खनालले सार्वजनिक रुपमा दुई अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाए । पार्टी कमिटीलाई बेवास्ता गरेर जान नहुनेमा फेरि त्यही शैली दोहोरिएको भन्दै असन्तुष्टि जनाएका हुन् । यसैबीचसत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को आन्तरिक विवाद सुल्झाउन कार्यदल बनेसँगै शीर्ष तीन नेताले पार्टीका दुई अध्यक्षप्रति शंका व्यक्त गरेका छन्। कार्यदल बनाएपछि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भएको छलफलबारे ब्रिफिङ गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवासमा बोलाएका बेला वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच सबै कुरा मिलाएर देखाउन हो कि साँच्चीकै विवाद समाधान गर्न कार्यदल बनाएको हो भनेर शंका व्यक्त गरेका थिए।

उनीहरूरुले कार्यदल गठनप्रति असहमति व्यक्त नगरेको तर त्यसको गठन प्रक्रिया र कार्यादेशबारे असहमति व्यक्त गरेको स्रोतले जनाएको छ। ‘दुई अध्यक्ष बसेर कार्यदल बनाउने होइन, पार्टी कमिटीले वैधानिकता दिनुपर्छ भन्ने प्रसंग उठेको हो, यसको कार्यादेश र कार्यक्षेत्र पनि पार्टी कमिटीले तोक्नुपर्छ भनेर कुरा राखेको हो, साथीहरूले पनि त्यही भन्नुभयो,’ वरिष्ठ नेता खनालले भने।

दुई अध्यक्षबीचको छलफल बिफ्रिङ सुन्न शनिबार बिहान खुमलटार दाहालनिवास पुगेका तीन नेताले कार्यदल कुन कमिटीले अनुमोदन गरेको भनेर प्रश्न गरेका थिए। उनीहरूले कार्यदल बनाउँदा पनि सचिवालय बैठकबाट बनाएको भए राम्रो सन्देश जाने र विधिको प्रयोग हुने बताएका थिए। दाहालले त्यसप्रति ख्याल नगरिएको प्रतिक्रिया दिएको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्