प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता , के कुराकानी भयो ?

काठमाडौं , साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भएको छ ।

सीमा विवादसँगै दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने नेपालको प्रस्ताव समेत भारतले स्वीकार गरेको थिएन ।तर ७४औं स्वतन्त्रता दिवसको अवसरमा दुई देशका प्रधानमन्त्रीस्तरमा टेलिफोन सम्वाद भएको छ ।

परराष्ट्रमन्त्रालयका अनुसार फोनवार्ताका क्रममा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई दिनुका साथै निरन्तर प्रगतिको शुभकामना दिएका छन् । उनले १० अप्रिल २०२० मा भएको सम्वाद स्मरण गरेका थिए ।

प्रधानमन्त्री ओलीले मोदीको छिमक प्राथमिकता नीतिको प्रशंसा गर्दै सार्थक द्वीपक्षीय सहयोगका लागि नेपाल तत्पर रहेको बताएको मन्त्रालयले जनाएको छ ।

ओली र मोदीच कोभिड(१९ विरुद्ध भइरहेका पछिल्लो प्रयासबारे छलफल हुनुका साथै मिलेर काम गर्ने समझदारी भएको छ । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वभरको प्रयास सफल हुने विश्वास व्यक्त गरे ।

दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा सम्वादलाई जारी राख्ने सहमति भएको समेत परराष्ट्र मन्त्रालयद्धार जारी वक्तव्यमा उल्लेख छ ।

स्वतन्त्रता दिवसको अवसरमा छिमेकीसँगको सम्बन्धमा जोड दिने भनेर मोदीले दिएको अभिव्यक्तिको ओलीले प्रशंसा समेत गरेको र दुवै प्रधानमन्त्रीले भविष्यमा दुईपक्षीय छलफललाई जारी राख्ने कुरामा सहमति जनाएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै कुराकानीमा दुवै प्रधानमन्त्रीबीच कोरोना महामारी विरुद्ध सहकार्य गरेर लड्ने सहमित समेत भएको छ । प्रधानमन्त्री ओलीले कोभिड(१९ खोपको आवश्यकतालाई औंल्याउँदै भारतलगायतका विश्वभरका वैज्ञानिकहरुले यसको विकास गर्न सक्षम हुने अपेक्षा राखेको बताएका थिए।

ओलीले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत निर्वाचित भएकोमा पनि मोदीलाई बधाई दिएका छन्।

गएको कात्तिकमा भारतले नयाँ नक्सा जारी गरेपछि नेपाल(भारत सम्बन्धमा तिक्तता आएको थियो। त्यसपछि गएको अप्रिलमा कोभिड–१९ को रोकथामबारे दक्षिण एसियाली राष्ट्रका कार्यकारी बीच संयुक्त सम्वाद भएयता दुई प्रधानमन्त्रीबीच कुराकानी हुन सकेको थिएन।

केही दिन अगाडि प्रधानमन्त्री ओलीले एक टेलिभिजनमार्फत् सीमा समस्या कुटनैतिक माध्यमबाट हल हुने अभिव्यक्ति दिएका थिए। लिम्पियाधुरा सहितको भूमि समेटेर सरकारले नक्सा जारी गरेपछि पहिलो पटक मोदीसँग प्रधानमन्त्री ओलीले सम्वाद गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्