तत्काल त्रिविका कुनै पनि परीक्षा नहुने : परीक्षाको जिम्मा डीन कार्यालयलाई
काठमाडौं , साउन २९ । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड–१९ को संक्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । ‘हामीले स्थिति सहज भएपछि परीक्षाको तयारी गरेका थियौँ’, उनले भने, ‘तर अहिले फेरि संक्रमण बढिरहेको छ । त्यसैले परीक्षा गर्ने तयारी गरे पनि पुनः स्थगन गरेका छौँ ।’ त्रिविले सामान्यावस्था भएपछि मात्र परीक्षा गर्ने भएको छ ।
परीक्षा नियन्त्रक जोशीले अब हुने परीक्षाको जिम्मा डीन कार्यालयलाई दिइएको जानकारी दिए । ‘कस्तो अवस्थामा परीक्षा गर्ने नगर्ने भन्ने जिम्मा डीन कार्यालयलाई दिएका छौँ’, उनले भने, ‘सामान्य अवस्था भएपनि डीन कार्यालय नै परीक्षाको तयारी गर्नेछ ।’
भदौ १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन भएपछि विद्यार्थी काठमाडौं आउने र त्यसपछि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्मका लागि लामो दूरीका यातायात चल्न नदिने निर्णय गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्