नेकपामा कोरोना भन्दा डरलाग्दो भाइरस छिर्‍योः मुख्यमन्त्री गुरुङ

काठमाडौं, साउन २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा कोरोना भन्दा डरलाग्दो भाइरस छिरेको टिप्पणी गरेका छन् ।

गण्डकी प्रदेश शाखाले शनिबार आयोजना गरेको ‘कञ्चन पत्रकारिता पुरस्कार अक्षयकोष घोषणा तथा पुरस्कार वितरण समारोह’कार्यक्रममा बोल्दै उनले यस्तो टिपण्णी गरेका हुन् । नेकपामा छिरेको सो भाइरसले पार्टी सिद्ध्याउन लागेको उनले बताए । देश अहिले कोरोनाको त्रासमा छ,‘उनले भने,‘तर यो भाइरस भन्दापनि डरलाग्दो भाइरस नेकपामा छिरेको छ, यो भाइरस निकै खतरा छ ।’

मुख्यमन्त्री गुरुङले नेकपामा छिरेको भाइरसको उपचारका लागि खोप निर्माण गर्न अनुसन्धान गरिहाल्नुपर्ने बताए । नेकपामा अहिले देखिएको भाइरस चाँडै समाप्त गर्नुपर्छ,‘उनले भने,‘यो भाइरस नेकपाविरुद्ध मात्र छैन, नत कुनै नेताविरुद्ध मात्र छ, यो त नेपालको विरुद्धमा छ । नेपाली जनता, नेपालको समृद्धि र विकासको विरुद्धमा छ । राष्ट्रिय स्वाधिनता र स्वाभिमानी नेपाली जनताको विरुद्धमा छ ।’

मुख्यमन्त्री गुरुङले वर्तमान सरकार परिवर्तन गरे जनताको अपमान हुने बताए । ‘स्थिर सरकार बनाएर विकास र समृद्धिमा लम्किदै समाजवादतर्फ लम्किने बाचासहित चुनावमा जाँदा जनताले विश्वास गरेर बहुमत दिएका हुन्’–उनले भने । उनले प्रधानमन्त्रीमा समस्या भए सुधार्न लगाउनुपर्ने भएपनि ओली सरकारलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकार अहिले नै लकडाउन गर्ने पक्षमा नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्