कोरोना प्रभाव वाणिज्य विभागमा पनि ! रोकियो नयाँ फर्म दर्ताको काम

काठमाडौं , साउन २५ । कोभिड-१९ प्रभाव वाणिज्य विभागमा पनि देखिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आजबाट नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता रोकेको हो ।

राजधानीलगायत देशैभर कोरोना जोखिम बढ्दै जाँदा विभागले व्यापारमूलक प्रकृतिका प्रालिको इजाजतसम्बन्धी सेवा पनि स्थगित गरेको हो । यद्यपि अत्यावश्यक सेवा प्रवाह गर्ने फर्मको दर्ताकार्य भने रोकिने छैन ।

विभागले फर्म नवीकरण, संशोधन र खारेजीको काम पनि दैनिक २०(२० वटाको मात्र गर्ने भएको छ । अर्थात् विभागमा दिनमा २० वटा मात्र फर्म नवीकरण, २० वटामात्र संशोधन तथा २० वटामात्र खारेज हुनेछन् ।ती फर्मले अनिवार्य रुपमा अनलाइन प्रणालीमार्फत कागजात पेस गर्नुपर्नेछ र पेस गरेको निवेदन स्वीकृत भएपछि मात्र कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । यस्तै एजेन्सी नवीरकरणको काम पनि दैनिक २० वटाको मात्र गरिने विभागले जनाएको छ ।

फर्मसम्बन्धी दैनिक काम कटौती गरेपनि विभागले बजार अनुगमनको काम भने नियमित राख्‍ने दाबी गरेको छ । यस्तै आयात निर्यातसम्बन्धी अनुमति तथा इजाजतसम्बन्धी काम र मुद्दासम्बन्धी काम नियमित गर्ने विभागले जानकारी दिएको छ । उल्लेखित सेवा कटौती भदौ ८ गतेसम्मका लागि हुनेछ ।

विभागले गत असार १ देखि नियमित सेवा सञ्‍चालन गरिरहेको छ । विभागले साउन २१ देखि व्यवसाय दर्ता, नवीकरण, संशोधन, खारेजीजस्ता कार्यका लागि अनलाइन प्रणालीमार्फत निवेदन र कागजात पेस गर्न सकिने व्यवस्था गरेको छ । तर, थोरै मात्र सेवाग्राहीले यसबाट सेवा लिइरहेको र विभागमा सेवाग्राहीको अत्याधिक चाप भएको बताइएको छ ।

सेवाग्राहीको भिडले गर्दा कार्यालयबाट नै कोभिड १९ को संक्रमण सर्वसाधारणमा फैलन सक्ने जोखिम बढेको कारण विभागले सेवा कटौती गरेको हो ।

प्रतिक्रिया दिनुहोस्